Logo

यस्तो छ देउवालाई प्रधानमन्त्रीबाट हटाउने प्रचण्डको फर्मुला !



काठमाडौं, २४ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई झस्क्याउने अभिव्यक्ति दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने,‘माओवादीसँग सहकार्य गर्ने शक्तिले प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमूख मान्नुपर्छ, हिजो आफैले मानेको एजेण्डा फेर्ने नैतिक अधिकार कांग्रेस–एमालेलाई छैन’ प्रचण्डले थप्नुभयो, ‘नेपालमा कम्तिमा पाँच वर्ष स्थीर सरकार चाहिन्छ । स्थीर सरकारले मात्रै आर्थिक समृद्धि हासिल गर्न, राष्ट्रिय एकता बलियो बनाउन र वैदेशिक हस्तक्षेपबाट जोगाउन सक्छ । यसले मात्रै हिमाल, पहाड र तराई–मधेशलाई जोड्न सक्छ, देशलाई एकताको एउटै शुत्रमा बाँध्न सक्छ ।’

‘प्रचण्ड’ले धनीले मात्रै जित्नसक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनु भएको छ । मंगलबार दिउँसो ललितपुरमा आयोजित नेकपा (माओवादी केन्द्र) प्रदेश नं.–३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुको प्रशिक्षणात्मक बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले गरीब, उत्पीडितहरुले निर्वाचन जित्न नसक्ने भएकाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।

प्रचण्डले भने, ‘भर्खरै ६ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । एउटा गाउँपालिका जित्न ४÷५ करोड खर्च भएको छ, यो सामान्य कुरा होइन । बिहान बेलुका छाक टार्न मुस्किल हुनेहरु क्षमता र जनविश्वास भएर पनि निर्वाचन जित्न सक्दैनन् । यो धनीले मात्र जित्ने र प्रतिभा एवं जनसमर्थन भएर पनि गरीबले हार्ने निर्वाचन प्रणाली हो । यसलाई बदल्नुको बिकल्प छैन । पार्टीहरु बीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीले मात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र बिकृतिलाई रोक्न सक्छ ।’

प्रशिक्षणमा अध्यक्ष प्रचण्डले माओवादी र देशभक्तहरुको एकताको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने बताए । उनले भने, ‘हामी निर्वाचन लड्यौं, बाबुरामजी, वैद्यजीहरु पनि चुनाव लड्नुभयो, विप्लवजीहरु हामीलाई हराउनकै लागि भए पनि चुनाव लड्नुभयो । तर, जनताले उहाँहरु सबैलाई तिमीहरु माओवादी नै हो, माओवादी केन्द्रसँग मिल भन्ने जनादेश दिए । हामीलाई पनि जनताले तिमीहरु एक्लैले हुँदैन, एकताका लागि पहल गर भन्ने सन्देश दिएका छन् । जनताको यो आवाजलाई बुझेर सबै माओवादी धारा र देशभक्तहरु एक हुनुको बिकल्प छैन ।’

भर्खरै सम्पन्न सचिवालय बैठकले लिएका निर्णयबारे जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने,‘सचिवालयको बैठकमा परिस्थितिको गम्भीर समीक्षा गरिएको छ । हाम्रो मूल समस्या वैचारिक अस्पष्टता र संगठनात्मक समस्या नै हो । अब हामीले पार्टीको मूखपत्र प्रकाशनलाई व्यवस्थित पार्छाैं, पार्टीको आधिकारिक धारणा बोकेको पत्रिका प्रकाशन गर्छाैं, पार्टी स्कूल सञ्चालन गर्छाैं र पार्टीमा विचारधारात्मक स्पष्टता हासिल गर्छाैं । विचारमा धारिलो भएपछि संगठनलाई गतिशील बनाउन सकिन्छ । त्यस दिशातिर गम्भीर पहल लिन आवश्यक छ ।’

माओवादी नभएको भए स्थानीय तह र निर्वाचन दुवै नहुने प्रचण्डले बताए । उनले भने, ‘हामी नभएको भए स्थानीय तह हुँदैनथ्यो, निर्वाचन पनि हुँदैनथ्यो । अहिले स्थानीय तह र निर्वाचन भएको छ । तर, यसलाई उल्टाउने षड्यन्त्र पनि भइरहेको छ । उनीहरुको शक्ति पुग्यो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउँछन् । धर्म्निरपेक्षता उल्टाउने कोशिस भइरहेको छ । यो उल्टियो भने यसकै डिब्बामा बसेर गणतन्त्र उल्टाउने कोशिस हुनेछ ।’

हिटलरले जर्मनीमा राष्ट्रिय समाजवादकै नारा दिएर फाँसीवादको अभ्यास गरेको प्रचण्डले बताए । उनले भने, ‘हिटलरले जर्मनीमा राष्ट्रिय समाजवादकै नारा दिएर फाँसीवादको अभ्यास ग¥यो । नेपालमा पनि पहाडी र मधेशी राष्ट्रवादको नाममा नश्लवाद हुँदै फासीवादको अभ्यास गर्न खोजिँदैछ । राष्ट्रवादको बिकृत नाराबाट जनता भ्रमित छ । यसले देशलाई नै दुर्घटनामा लैजाने भयानक खतरा पनि छ । त्यसैले यस्तो घातक प्रवृत्तिलाई चिर्न माओवादी जनतामा जानुको बिकल्प छैन ।’

बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, अग्नि सापकोटा, पम्फा भुसाल, हितमान शाक्य, आहुति, नारायण दाहाल, सूर्य सुवेदी, अञ्जना बिसङ्खे लगायतको उपस्थिति थियो । बैठकमा प्रदेश नं.–३ का १३ जिल्लाका ईन्चार्जहरुले रिपोर्ट प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्