Logo

के हो कोशी व्यारेज ? जसले वर्षेनी रुवाउँछ नेपालीलाई



कोशी नदीमा निर्माण गरिएको व्यारेज नेपालका लागि अभिषाप सावित भएको छ । तराई क्षेत्रमा वर्षातका बेला डुबान हुनुको प्रमुख कारण कोशी व्यारेज हो । व्यारेजका ढोका नेपालले खोल्न नपाउँदा लाखौँ जनताको घरघरमा बाढी पस्ने गरेको छ । नेपाली भूमिमै बाँध निर्माण गरिएको भएपनि कोशी व्यारेजको सञ्चालन, रेखदेख लगायतको सम्पूर्ण जिम्मेवारी भारतको हातमा छ । कोशी ब्यारेजमा ५६ वटा ढोका छन् । बाढीले नेपाली क्षेत्र जलमग्न हुँदा पनि भारतले मुश्किलले ३० वटा मात्रै ढोका खोल्न गरेको छ ।‘बर्खामा ब्यारेजका सबै ढोका खोल्ने हो भने सिंगो बिहार डुब्छ । सोही कारणले भारतले सबै ढोका खोल्दैन । ढोका नखोल्दा नेपाल डुब्ने गरेको छ । ढोका खोल्ने वा नखोल्ने सबै अधिकार भारतको हातमा छ । नेपाली पक्षको अविवेकी सम्झौताको कारणले हरेक वर्ष नेपालले कोशीको विपत्ति सहनुपरेको हो ।


सुनसरी र सप्तरी जिल्लाको बीचमा ११ सय ७५ मिटर लामो ब्यारेज निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्गलाई सोही ब्यारेजले जोडेको छ । नेपालले ब्यारेजका कारण बनेको बाटोबाहेक अरू सुविधा लिन पाएको छैन । ब्यारेजमा पानी लैजानको लागि नेपालतर्फ एक सय २५ किलोमिटर तटबन्ध समेत निर्माण गरिएको छ ।
३० मिटर अग्लो ब्यारेज बनाएको भएपनि अहिले चाहिँ बालुवाले पुर्दा उक्त ब्यारेजको गहिराइ मुश्किलले १५ मिटर रहेको जानकारहरू बताउँछन् ।
कोशी ब्यारेजको पानी नेपाल र भारत दुवै पक्षले प्रयोग गर्ने कोशी सम्झौतामा उल्लेख गरिएको छ । पूर्वी नहरको पानी भारतले र पश्चिमी नहरको पानी नेपालले प्रयोग गर्ने सम्झौतामा उल्लेख छ । तर हिँउदको बेलामा सबै पानी भारतले प्रयोग गर्दै आएको छ । पूर्वी नहर होचो र पश्चिमी नहर अग्लो बनाइएको कारणले हिँउदको सम्पूर्ण पानी भारतले प्रयोग गर्छ ।
भारतले कोशीकै पानीको कारणले २ लाख ६१ हजार हेक्टर जमिन सिँचाइ गर्दै आएको छ । नेपालले २५ हजार हेक्टर भूमि पनि सिँचाइ गर्न पाएको छैन । बर्खायाममा त भारतले बिहार डुब्ने डरले सबै ढोका लगाउँछ । तर हिउँदमा भने सबै पानी बिहार लैजान्छ ।
सुनसरी र सप्तरी जिल्लाको नेपाली सिमानामा कोशी ब्यारेज निर्माण गरिएको छ । सन् १९५४ मा भएको कोशी सम्झौता अनुसार कोशी नदीमाथि ब्यारेज निर्माण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्