Logo

कोशी बाँधले विराटनगरमा प्रभाव छैन, दोक्लम विवादमा नेपाल बोल्नु अनावश्यक हो : शेखर कोइराला



नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी बाँधका कारण विराटनगर क्षेत्रमा कुनै असर नपरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले विराटनगरमा रहेको बुढी खोला र सिंघाइ खोलाको बाढीका कारण त्यस क्षेत्र प्रभावित भएको बताए । पूर्व र पश्चिमतिरबाट ति खोलाले अप्ठ्यारो पारेको कोइरालाले बताएका हुन् । उनले भने, “कोशी बाँधको कारणले होइन । मानिसहरुले नबुझेर भन्या हो या मैले नबुझेको हो । कोशी बाँधले भएको भए त अहिले विराटनगरको अवस्था बहुतै नाजुक हुन्थ्यो ।”
विराटनगरको विमानस्थललाई तिनै खोलाको कटानले डुबाएको जानकारी कोइरालाले दिए । “पूर्व र पश्चिम दुवैतिरबाट खोला आएकाले विराटनगर जलमग्न भएको हो ।” उनले भने ।

विराटनगरका बाढी पिडितलाई राहत वितरणका लागि आएको जानकारी दिदै कोइरालाले साथीभाइको सहयोगमा राहत र उद्धारमा सक्रिय रहेको बताए ।
सबैभन्दा पहिला उद्धारलाई प्राथमिकता दिइएको जानकारी दिदै कोइरालाले त्यसका लागि डुङ्गाको आवश्यकता परेको तर उपलब्ध नभएको बताए । उनले भने, “बल्लतल्ल २ वटा बोट पायौँ, त्यसपछि रेस्क्यू गरेर बचायौँ ।” जनताको माझमा पुगेर सुख दुःखमा साथ दिइरहेको कोइरालाको दाबी छ ।
अबका दिनमा हरेक जिल्ला विपद् व्यवस्थापनका लागि सक्षम हुनुपर्ने औँल्याउँदै कोइरालाले मौसम परिवर्तनका कारण नेपालमा हरेक वर्ष प्राकृतिक विपत आउने कुरालाई बुझ्न जरुरी रहेको कोइरालाले बताए ।

अर्को प्रसङ्गमा कोइरालाले नेपालका लागि भारतीय राजदुत मञ्जित सिंह पुरीले नेपाल–भारतबिचको सम्बन्ध भगवानले बनाएको भन्ने भनाईको खण्डन गरे । सबै देशको सम्बन्ध भगवानले नै बनाउने तर्क गर्दै कोइरालाले भने, “हामी छिमेकी हौँ, अति निकट छिमेकी मात्र होइन, नेपाल भारतबिचको सम्बन्ध फरक किसिमको छ । तर भगवानले बनाएको भनेर कसरी भन्ने?”
भारत र चिनबिचमा विवाद भइरहेको दोक्लाम नेपालसँग सम्बन्धित विषयवस्तु नभएको कोइरालाको जिकिर छ । “धेरै जान्ने भएर यो विषयमा नेपालले आफ्नो विचार प्रकट गर्नु हुँदैन । शान्त कुटनीतिको हिसाबले चुप लागेर बस्नुपर्छ ।” उनले भने ।
दोक्लाम विवादको समाधान भारत र चिनले नै खोज्न सक्ने कोइरालाको धारणा छ ।

चिन र भारतको बिचमा विवाद हुँदा नेपालले मध्यस्थता गर्नका लागि क्षमता छ कि छैन भन्ने कुरा ख्याल गर्नुपर्नेमा कोइरालाले सचेत गराएका छन् । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले विवाद मिलाउनका लागि नेपालले मध्यस्थता गर्न सक्ने भनेको कुरालाई खण्डन गर्दै कोइरालाले भने, “मध्यस्थता गर्नलाई हाम्रो क्यापासिटी हुनुप¥यो । नेताहरुको सोच हुनुप¥यो । हामी साना कुरामा त भारत र चिनको सहयोग लिन्छौँ । हामीसँग कसले मध्यस्थता माग्छ ?”

 



प्रतिक्रिया दिनुहोस्