Logo

मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न तयार, तर सरकारले किन्ने प्रस्ताव नै गरेको छैन



साउन ३१, काठमाण्डौ । मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न आफुहरु तयार रहेको कलेजका सचिव रामकुमार अधिकारीले बताएका छन् ।

नेकपा एमालेका नेता राजेन्द्र पाण्डेसमेत सञ्चालक रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले मनमोहन मेडिकल कलेज सरकारले खरिद गर्न चाहेमा हस्तान्तरण गर्न तयार रहेको अधिकारीले बताए ।

डा. गोविन्द केसीको माग पूरा गर्नका लागि सरकारले मनमोहन मेडिकल कलेज खरिद गरेर मध्यमार्गी बाटो खोजेको कुरा बाहिर आइरहदा अधिकारीले सरकारलाई सहज हुने गरी धारणा सार्वजनिक गरेका हुन् । यद्यपी सरकारले आधिकारिक रुपमा आफुहरुलाई मेडिकल कलेज किन्ने प्रस्ताव नराखेको अधिकारीले बताए ।
कलेज सरकारलाई बेच्ने विषयमा कलेजका अध्यक्ष राजेन्द्र पण्डेसमेत सहमत भएको अधिकारीको दाबी छ । पाण्डेका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु झलनाथ खानाल र माधब कुमार नेपालसमेत मेडिकल सरकारलाई बेच्ने कुरामा सकारात्मक रहेको अधिकारीले बताए । तर सरकारले अहिलेसम्म औपचारिक रुपमा मेडिकल कलेज किन्ने प्रस्ताव नराखेको अधिकारीको दाबी छ ।
यसैबिच अधिकारीले मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका चिकित्सक गोविन्द केसीले नियम विपरित कार्य गरेको आरोप लगाएका छन् । सरकारी जागीर खाएको कर्मचारी काम छोडेर नियम उल्लङ्घन गरेको अधिकारीको आरोप छ । नियमावलीमा काम छोडेर अनशन बस्न नपाइने व्यवस्था भए पनि केसीले नियम पालना नगरेको अधिकारीको आरोप छ ।
हाड जोर्नीका डाक्टर केसी सरकारी छात्रवृत्तिमा विदेशबाट पढेर आएको तर नियम अनुसार दुर्गम क्षेत्रमा काम नगरेको आरोप समेत अधिकारीले लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्