Logo

अन्ततः गोविन्द केसीले तोड्ने भए अनशन, यस्तो छ कारण



साउन ३१, काठमाण्डौ । २३ दिनदेखि आमरण अनसनमा बसेका प्रा.डा. गोविन्द केसीले अनशन तोड्ने भएका छन् । सरकारसँग आन्तरिक रुपमा सहमति भएपछि केसी अनशन तोड्न तयार भएका हुन् । प्रा. डा केसी बाढी पहिरोको कारण देश असामान्य अवस्थामा पुगेको भन्दै सबै माग पूरा नभए पनि निशर्त अनसन तोड्ने मनस्थितिमा पुगेको बताइएको छ । ११ औं अनसन बसेको २३ दिनसम्म पनि सरकारले आफ्ना मागमा गम्भीरता नदेखाएको र अहीले नै बाढी पहिरोको कारण देशमा ठूलो धनजनको क्षति भएको कुरालाई मध्यनजर गरी अनशनरत डा. केसीले अनसन तोड्ने अवस्थामा पुगेका छन् । यद्यपी सरकारी पक्षले भने माग सबै पूरा भएकाले केसी अनशन तोड्न राजी भएको दाबी गरेको छ । १० वर्षसम्म काठमाण्डौ उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने माग गरेर अनशन बसेका केसीको मागसँग नेकपा एमालेका नेता राजेन्द्र पाण्डेसमेत सञ्चालक रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले खोलेको मनमोहन मेडिकल कलेज ठूलो इस्यु बनेको थियो ।

डा. केसीले ११ औं अनसन तोड्दै गर्दा मनमोहन मेडिकल कलेज विवाद भने सल्टिएको छैन ।

मेडिकल कलेज खोल्न आशयपत्र लिइसकेकाहरुको सम्पत्ति सरकारले किन्नेबारे अध्ययन गर्न मुख्यसचिवकै नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्ने सरकारको तयारी छ । तर, यसका लागि मन्त्रिपरिषद्को बैठक बस्नुपर्छ ।

साथै माथेमा कार्यदलको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक अघि बढाउने बचन पनि सरकारले दिनेछ र बाढी तथा डुवानका कारण उत्पन्न गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै अनसन तोड्न डा. केसीलाई आग्रह गर्नेछ ।
उक्त कलेजलाई तत्काल अनुमति नदिने गरी अनशन तोडाउन लागिएको सरकारी पक्षको भनाई छ ।
डा. केसीले २३ दिनदेखि जारी अनसन तोड्नु अघि सरकारले केही निर्णय गर्दैछ भने त्रिभुवन विश्वविद्यालयले केसीको माग सम्बोधन गर्न केही निर्णय लिएको छ ।

त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएममा फिर्ता गरेको छ ।
साथै आईओएमको स्वायत्ततासम्वन्ध अध्ययन गरेर सुझाव दिन गठन भएको कार्यदलले दिएको रिपोर्ट पनि त्रिवि सिनेटमा पेश गर्ने बचन खनियाले दिएका छन् ।

डा. केसीले अनसन तोडेपछि आईओएमका डिनले सिफारिस गरेका चार जनालाई नै सहायक डिन नियुक्त गर्न पनि त्रिभुवन विश्वविद्यालय सहमत भएको छ ।

विपद पर्दा आफु हाइटीसम्म पुगेर सेवा गरेतापनि अहिले सरकार र राजनीतिक दलका नेताहरुले बेइमानी गरेका कारण डा. केसीले आफ्नै देशमा परेको दुखमा सेवा गर्न नपाएको बताएका छन् । साथै उनले आफ्नो अनशनका कारण अन्य चिकित्सकको मनस्थिती पनि कमजोर भइ झन ठूलो दुर्घटना हुनसक्ने कुरालाइ मनन गरेर निशर्त अनशन तोड्ने मनस्थिति बनाएको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्