Logo

पार्टी फुटाउन देउवा लागेको भन्दै राप्रपा संशोधन प्रस्तावबारे मौन



काठमाडौँ, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आजदेखि हेटौंडामा सुरु भएको छ । नेता पशुपतिशमशेर जबराले पार्टी विभाजनको प्रयासपछि राप्रपाको केन्द्रीय समिति बैठक पहिलोपटक बसेको हो ।

पशुपति शमशेरसहितका नेताहरुले पार्टी विभाजनको कोशिश गरेपछि निर्वाचन आयोगले गरेको सनाखत र भावी रणनीति बारे बैठकमा छलफल सुरु भएको राप्रपा प्रभावशाली नेता दिलनाथ गिरीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

नेता राणा पक्षलाई साउन २९ गते ५ बजेसम्म हस्ताक्षर सनाखतको समय निर्वाचन आयोगले दिएपनि राणा समुहले आफ्ना केन्द्रीय सदस्यहरु कोहि विदेश र कोहि काठमाडौँ बाहिर रहेको भन्दै आयोगमा निवेदन दिएपछि आयोगले भाद्र ४ गतेसम्मको समय दिएको छ ।

यता राप्रपाले भने रित नपुगेको निवेदन खारेज गर्नुको सट्टा आयोगले सनाखत गर्न सुचना जारी गर्नु, आफैंले जारी गरेको सुचना किनारा नलगाइ पुनः सनाखतको समयावधि बढाउनुले निर्वाचन आयोगको विश्वसनीयता कमजोर हुने आरोप लगाउँदै आएको छ।

राप्रपाले विभिन्न शक्ति केन्द्रको दबाब र प्रभावमा निर्वाचन आयोगले निर्णय गरेकोले सो निर्णय दुःखद र विडम्बनापूर्ण रहेको समेत जनाएको छ । जारी केन्द्रिय समितिको बैठकमा पशुपति समुहलाई ४० प्रतिशत पुर्याउन नदिने मुख्य उद्देश्य रहेको नेता गिरीले दाबी गरे ।

त्यसको लागि पार्टी अध्यक्ष कमल थापाले सबै हत्कण्डा अपनाएका छन् । थापा समुहले आफ्नो पार्टी फुटाउन प्रधानमन्त्री समेत रहेका कांग्र्रेस सभापति शेरबहादुर देउवा नै सक्रिय भएको आरोप लगाउँदै आएको छ ।

त्यस्तै हिजो संसदको प्रक्रियामा गएको संविधान संशोधन प्रस्तावको पक्षमा समेत मत हाल्ने वा नहाल्ने भन्ने विषयमा समेत जारी बैठकमा छलफल हुने भएको छ। स्रोतले भन्यो,“कांग्रेसबाहेकका अन्य शक्तिसँग तालमेल गर्नेबारे हामी ओपन छौं, तर कांग्रेसले हाम्रो पार्टी फुटाउने प्रयास गरेको पुष्टि भैसकेको छ, देउवाजीले अघि बढाएको संशोधन प्रस्तावको पक्षमा मत हाल्ने वा नहाल्नेबारे अहिले हामीले निर्णय गरेका छैनौं, यो बैठकमा यसबारेमा पनि निर्णयमा पुग्छौं।”

त्यस्तै पछिल्लो समय पार्टीले राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा छोडेको भनेर आरोप खेपिरहेकोले यसबारेमा पनि स्पष्ट पार्ने नेता गिरीले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्