Logo

बाढीपीडितको उचित व्यवस्थापन गरिनेछ : प्रधानमन्त्री देउवा



नेपालगञ्ज, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका बाढीपीडितको उचित व्यवस्थामा सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ ।

बाँके, बर्दिया र कैलाली जिल्लाका बाढी प्रभावित क्षेत्रको हवाई तथा स्थलगत अवलोकन र पीडित परिवारलाई राहत वितरण गरी काठमाडौँ फर्कने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले बाढी प्रभावितको सुरक्षित बसोबास तथा जीविकोपार्जनलाई मुख्य प्राथमिकतामा राखेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “सरकार यो विषयमा अत्यन्त संवेदनशील छ, बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक गृहकार्य थालनी गरिएको छ ।”

“बाढी प्रभावितको अवस्था अत्यन्त दयनीय छ, उनीहरुको आवश्यकता तत्कालको राहतले पूरा हुन सकेको छैन, यो कुरा सरकारले बुझेको छ, यसैका आधारमा सरकारबाट सबैखाले स्रोत र साधन परिचालन गरी पीडितको व्यवस्थापन छिटोभन्दा छिटो हुनेछ”, उहाँले भन्नुभयो ।

पत्रकार भेटघाटअघि प्रधानमन्त्री देउवालाई नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले बाढी प्रभावितको समस्या उल्लेख गरिएको दशबुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभएको छ । सो पत्रमा बाढीबाट विस्थापितको सुरक्षित बसोबास हुनुपर्ने, क्षतिग्रस्त पुल र सडक तत्काल मर्मत गरिनुपर्ने, बाढी आउन नदिन नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध बाढीको कारक भएकाले सो विषयमा सरकारीस्तरबाट सम्बद्ध पक्षसँग वार्ता गरिनुपर्ने लगायत माग समेटिएका छन् ।

सोही अवसरमा बाँके जिल्लाको लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका अध्यक्ष जगदीशबहादुर सिंहले छबुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । रासस (तस्वीर उपलब्ध छ)

 



प्रतिक्रिया दिनुहोस्