Logo

नेपाली काँग्रेससँगको सहकार्य रणनीतिक महत्वको छ : ‘प्रचण्ड



काठमाडौँ, २ भदौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली काँग्रेस र आफ्नो पार्टीबीच भएको समझदारी रणनीतिक महत्वको भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको विस्तारित बैठकलाई यहाँ आज सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले अन्धराष्ट्रवादका नाममा मुलुकलाई फासीवादको दिशामा लैजाने प्रपञ्च भएका कारण दुई पार्टीबीच सहकार्य भएको उल्लेख गर्नुभयो ।

उहाँले शान्ति प्रक्रियाको प्रमुख हिस्सेदार शक्ति भनेकै काँग्रेस र माओवादी मात्रै भएकाले यी दुई शक्तिबीचको सहकार्यले मुलुक अग्रदिशामा जाने स्पष्ट पार्नुभयो ।

“बाह्र बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता काँग्रेससँग भएको हो । नेकपा(एमाले) प्रमुख हिस्सेदार होइन, ऊ साक्षी मात्रै हो । त्यसकारण हामीले सहकार्य पनि काँग्रेससँग नै गर्नुपर्छ भन्ने मान्यतामा छौँ”– अध्यक्ष दाहालले भन्नुभयो, “काँग्रेसले लिन र दिन दुवै जानेको छ, एमालेले लिन मात्रै जानेको छ, दिन जानेको छैन ।”

आफ्नो पार्टीले माधव नेपाल, झलनाथ खनाल, खड्गप्रसाद शर्मा ओलीलाई प्रधानमन्त्री बनाएको स्मरण गर्नुहुँदै अध्यक्ष दाहालले आफूले लिँदा ठीक, माओवादी प्रिय हुने, दिन परेपछि बेठिक हुने प्रवृत्ति नत्यागेसम्म सहकार्य हुन नसक्ने उल्लेख गर्नुभयो ।

स्व गिरिजाप्रसाद कोइराला र आफूले गरेको हस्ताक्षरका कारण नै मुलुकमा राजनीतिक परिवर्तन भएको, संविधानसभाबाट संविधान जारी भएको भन्दै उहाँले अन्य पार्टीको अस्तित्व नै स्वीकार गर्न नसक्ने एमाले र त्यसको वर्तमान नेतृत्वको सोच शतप्रतिशत गलत रहेको बताउनुभयो ।

एमालेले आफूमात्रै राष्ट्रवादी भन्ने भ्रम फैलाएको भन्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण लक्ष्यका साथ काँग्रेससँग सहकार्य गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले सञ्चारकर्मीलाई सत्यतथ्यको गहिराइमा गएर समाचार सम्प्रेषण गर्न आग्रह गर्दै भन्नुभयो, “आफ्नो नेतृत्वको सरकारले गरेका प्रभावकारी र जनमुखी कामको प्रचारप्रसार नहुँदा जनतामा त्यसको प्रभाव पर्न सकेन । आगामी दिनमा सरकारले गरेका राम्रा कामको प्रचार गर्न कुनै पनि कन्जुस्याइँ नगर्नुहोला ।”

सो अवसरमा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल लगायतले राष्ट्र निर्माण र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्