Logo

राजपाका संयोजक महन्थ ठाकुर र प्रधानमन्त्री देउवाबिच भेटवार्ता, संविधान संशोधन विधेयक पास गराउने विषयमा छलफल



भदौ ३, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । भेटका अवसरमा आगामी भदौ ५ गते संविधान संशोधन प्रस्तावलाई भोटिङमा लैजाने विषयमा छलफल भएको छ ।

छलफलका क्रममा ठाकुरले देउवालाई जसरी भए पनि संविधान संशोधन विधेयक पारित गराउनुपर्नेमा दबाब दिएका छन् । भोटिङमा लैजादा दुई तिहाई बहुमत नपुग्ने अवस्था देखिएको भन्दै त्यसतर्फ सरकारले गम्भीर रुपमा सोचेर बहुमत पु¥याउनका लागि सबै दलसँग सहमति गर्नुपर्नेमा ठाकुरले देउवाको ध्यानाकर्षण गराएका हुन् ।
लामो रस्साकस्सीपछि सरकारले सातबुँदे संविधान संशोधन विधेयक व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ । तर विधेयक पारित हुने सम्भावना ज्यादै न्यून देखिएपछि राजपाले सरकारलाई दबाब दिदै आएको छ । व्यवस्थापिका संसदको कार्यसूचीमा लामो समयदेखि अड्किएको संविधान संशोधन विधेयकमा छलफल सुरु भइसकेको छ । भदौ पाँच गते निर्णयार्थ पेश गर्ने तयारी भइरहेका बेला राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरले प्रधानमन्त्री देउवालाई विधेयक पास गराउनका लागि बाधक देखिएको नेकपा एमालेलाई पनि मनाउन आग्रह गरेका छन् ।

भेटका अवसरमा तराई क्षेत्रमा आएको बाढीले जनधनको क्षति भएको तर सरकारले प्रभावकारी रुपमा राहत र उद्धारको काम नभएको भन्दै ठाकुरले असन्तुष्टी व्यक्त गरेका छन् । ठाकुरले राहत वितरणलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
यस्तै भेटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका विषयमा पनि छलफल भएको थियो । भारत भ्रमणका बेला नेपालले उठान गर्ने एजेण्डाका विषयमा छलफल भएको हो ।



प्रतिक्रिया दिनुहोस्