Logo

संविधान संशोधन विधेयक फेल भए पनि राजपा चुनावमा सहभागि हुने



भदौ ५, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले आफ्नो पार्टी संविधान संशोधन प्रस्ताव पारित नभए पनि चुनावमा सहभागि हुने विषयमा सकरात्मक रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले चुनावमा सहभागि हुने विषयमा पार्टीले अन्तिम निर्णय केही दिनमा गर्ने बताउँदै ६ र ७ गते पार्टीको केन्द्रिय पदाधिकारीको बैठकले टुङ्गो लगाउने बताए । असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा सहभागि हुने विषयमा पार्टी सकरात्मक रहेको नेता सुमनले बताए । संविधान संशोधन प्रस्ताव पारित हुने वा नहुने भन्ने विषय संसदले गर्ने निर्णय भएकाले संसदीय अनुशासनलाई सबैले पालना गरेको खण्डमा राजपाले पनि पालना गर्ने सुमनको तर्क छ ।

राजपाको माग अनुसार नै सरकारले संविधान संशोधनको विधयक संसदमा पेश भएको बताउँदै नेता सुमनले भने, “अनुशासनको नियम सबैले पालना गरेर संशोधनमा सहभागि भएको खण्डमा विजय वा पराजय जे भए पनि हामी स्विकार गछौँ । यसमा दुईमत छैन । खेलमा सधैँ विजय नै हुनुपर्छ भन्ने छैन ।”
गोप्य मतदान गराउने हो भने संशोधन प्रस्ताव पारित हुने ठोकुवा सुमनले गरेका छन् । पार्टीगत रुपमा लाग्दा खुला मतदानले प्रभावित गर्ने भएकाले यदी गोप्य मतदान गर्ने हो भने एमालेका समेत धेरै सासंदले संविधान संशोधनको पक्षमा मतदान गर्ने दाबी सुमनको छ । “खुला मतदान भयो भने डराउँछन । गोप्य मतदान गराउने हो भने पक्का पास हुन्छ ।” उनले भने ।

संसदबाट संशोधन प्रस्ताव पारित हुन नसके जनतामाझ जाने बताउँदै संशोधनको मुद्दा जिवितै रहने सुमनले बताए ।
राजपाले माग गरेका अन्य धेरै विषयहरु सरकारले पूरा नगरेको आरोप सुमनले लगाएका छन् । आन्दोलनमा सहभागिको मुद्दा फिर्ता, घाइतेको उपचार, मृतकलाई क्षतिपूर्ति लगायतका माग १ वर्षदेखि सरकारले पूरा नगरेको उनको आरोप छ ।
माग पूरा गर्ने विषयमा सरकारसँग पटकपटक सम्झौता भए पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्