Logo

राजपा चुनाव र सरकार दुवैमा सहभागि हुने सरकारको दाबी



भदौ ६, काठमाण्डौ । सुचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय जनता पार्टी सरकार र चुनाव दुवैमा सहभागि हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै मन्त्री बस्नेतले राजपा अब सरकारमा समेत सहभागि हुने दाबी गरेका हुन् । यसअघि चुनावमा भाग नलिने अडान गरे पनि अबको चुनावमा राजपा सहभागि हुन तयार भएको सरकारका प्रवक्तासमेत रहेका बस्नेतले दाबी गरे ।
“उहाँहरु सरकारमा जानुहुन्छ । सरकारमा गएपछि चुनावमा जानुहुन्छ ।” मन्त्री बस्नेतले भने ।
राजपाले संविधान संशोधनको प्रस्तावलाई संसदमा टेबल गरिदिनका लागि आग्रह गर्दै प्रस्ताव आफ्नो पक्षमा वा विपक्षमा जतापट्टी निर्णय भए पनि स्विकार गर्ने प्रतिवद्धता व्यक्त गरेको बस्नेतले बताए । राजपाको माग अनुसार संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरिएको बताउँदै अब राजपा चुनावमा नजानका लागि कुनै पनि कारण नरहेको बस्नेतको तर्क छ ।
संशोधन प्रस्ताव पारित गराउनका लागि सरकारले धेरै कोशिस गरे पनि सफल हुन नसकेको मन्त्री बस्नेतले बताए ।
राजपाका अन्दोलनसँग सम्बन्धित धेरै जसो मागहरु पूरा भइसकेको बताउँदै मन्त्री बस्नेतले आन्दोलनका नाममा अपराधिक घटनामा संलग्नलाई भने छुट दिन नसकिने बताए । यससम्बन्धमा अध्ययन भइरहेको बस्नेतले बताए ।
प्रदेश र संसदको चुनाव एकैपटक गराउनका लागि कुनै पनि समस्या नरहेको मन्त्री बस्नेतको जिकिर छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आएपछि निर्वाचनका लागि चाहिने सबै ऐन कानुनको प्रक्रिया अगाडि बढ्ने मन्त्री बस्नेतले बताए । प्रधानमन्त्री नफर्किएसम्म चुनावका लागि चाहिने ऐन र नियमको टुङ्गो लाग्न नसक्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्