Logo

राजपा चुनावमा सहभागि हुन तयार, आजको बैठकले निर्णय गर्ने, राप्रपा र एमालेप्रति आक्रोष



भदौ ६, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले आफ्नो पार्टी चुनावमा सहभागि हुनका लागि वातावरण बन्दै गएको बताएका छन् ।

सरकारसँग भएको तीन बुँदे सहमति अनुसार निर्वाचनको वातावरण बनेको यादलको टिप्पणी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता यादवले संविधान संशोधन प्रस्ताव फेल हुनुलाई खेलको नियम सम्झेर स्विकार गरिने बताए । “यो परिणामले निर्वाचनमा जाने वातावण बनेको छ । आजको पदाधिकारी बैठकले निर्वाचनमा जाने निर्णय गर्छ ।” यादवले भने ।

प्रदेश नम्बर २ मा हुने स्थानीय निकायको चुनावको तयारीमा पार्टी केन्द्रित हुने नेता यादवले स्पष्ट पारेका छन् । चुनावमा सहभागि हुने क्रममा मुद्दा मिल्ने पार्टीसँग तालमेल गर्न सकिने यादवको भनाई छ । नेकपा एमालेले संविधान संशोधन प्रस्तावलाई असफल बनाउने काम गरेको आरोप लगाउँदै नेता यादवले भने, “राप्रपा र एमालेले खेलेको भूमिकाले यो मुलुकका लागि संकटको निम्तो दिएको छ । संशोधन प्रस्ताव फेल हुनु भनेको संविधान कार्यान्वयन हुन नसक्नु हो ।”

राप्रपा देशको प्रतिगामी पार्टी भएको आरोप लगाउँदै यादवले मधेशी जनतालाई राप्रपाले धोका दिएको टिप्पणी गरेका छन् । पहिला संशोधनको पक्षमा मतदान गर्ने भनेर पनि पछि हटेकोले राप्रपाले गलत गरेको यादवको तर्क छ ।

संविधानले सबै पक्षको अधिकार स्थापित गराउन नसकेको भन्दै यादवले वित्तिय अधिकार केन्द्रमा मात्रै राखिएकोले कार्यान्वयनको पाटो कठिन रहेको बताए । आर्थिक स्रोत केन्द्रमा राखिदा स्थानीय सरकार कमजोर बन्ने यादवको तर्क छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबिचको सम्बन्ध अझ राम्रो होस् भन्ने राजपाको चाहना रहेको यादवले बताए ।



प्रतिक्रिया दिनुहोस्