Logo

बाढीका कारण धानखेती बगरमा परिणत



इनरुवा, ६ भदौ । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१० जल्पापुरका अब्दुल रहमानले मेहनतका साथ पाँच कट्ठा जग्गामा धानखेती गर्नुभएको थियो ।

पाँच कट्ठामा लगाएको धानले छ महिनासम्म खान पुग्ने भएकाले उहाँलाई आफ्नो जग्गा नभए पनि ऐलानी जग्गामा सुर्वणा धान लगाउनुभयो । तर त्यो धानबालीलाई केही दिन अगाडि आएको विनाशकारी बाढीले बगाएपछि अहिले उहाँलाई अब कसरी दिन बिताउने भने चिन्ताले सताएको छ ।

पाँच कट्ठा जग्गामा लगाएको धानबाट २५ देखि ३० मनसम्म उत्पादन हुने आशा गरेको धानखेती एक्कासि आएको बाढीले बगरमा परिणत गरिदिएपछि अहिले उहाँ चिन्तित हुनुभएको छ ।

रहमान जस्तै इनरुवा नगरपालिका–१० का डोमी मन्सुरीको अवस्था पनि उस्तै छ । उहाँले आफ्नै १० कट्ठा जग्गामा धानबाली लगाउनुभयो । तर एक्कासि केही दिन अगाडि आएको बाढीले धान बगाएपछि अहिले उहाँ चिन्तित हुनुभएको छ ।

४० हजार लगाएर गरेको धानबाली बाढीले बगाएपछि अहिले उहाँलाई कसरी परिवार चलाउने भने समस्याले सताएको छ । वर्षभरि खान पुग्ने धानको बाली बगाएपछि कसरी वर्षभरि गुजारा चलाउने भने चिन्ताले रहमानलाई पिरोलिरहेको छ ।

उहाँ जस्तै जल्पापुरका मोहम्मद जाकिरको अवस्था पनि उस्तै भएको छ । उहाँले २०० देखि ३०० सम्म मजदुर ल्याएर मेहनतका साथ गरेको धानखेती बगाएपछि अहिले उहाँ के गर्ने भन्ने सोचमा पर्नुभएको छ ।

खेती गर्ने बेलामा पानीको अभाव, मजदुरको अभाव, हलो जोत्ने मजदुर तथा ट्र्याक्टरको अभावलगायतका समस्याका बाबजुद गरेको धानखेती छिनभरमै बगरमा परिणत भएपछि अहिले उहाँ समस्यामा पर्नुभएको छ । धानखेती बगरमा परिणत भएपछि उहाँ परिवार कसरी चलाउने भने सोचमा डुब्नुभएको छ ।

घरमा भएको अन्नपात, लत्ताकपडा, बाढीले बगायो, मेहनतका साथ गरेको धानबाली बाढीले बगायो अब के गर्ने भन्ने सोचमा परेको उहाँ बताउनुहुन्छ ।

उहाँहरु त सुनसरीका लागि उदाहरणका पात्र मात्र हुनुहुन्छ । उहाँहरु जस्तै जिल्लाका एक लाख कृषकले लगाएको १७ हजार ५०० हेक्टर क्षेत्रफलको धानखेती बाढीले बगाएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।

उक्त धानबाली बाढीले बगाउँदा करिब रु दुई करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले बताउनुभयो ।

यता जिल्ला कृषि विकास कार्यालय, सुनसरीले बाढीले बगाएको धानखेतीको तथ्यांक संकलन गर्ने काम भइरहेको जनाएको छ । धानखेती बाढीले बगाएको ठाउँमा अब पुनः धानखेती लगाउनतर्फ कृषकलाई प्रेरित गर्ने कृषि विकास कार्यालय सुनसरीका विकास अधिकृत दीपेन्द्र पोखरेलले बताउनुभयो ।

उहाँले तथ्यांक संकलन भएपछि कृषकलाई उचित क्षतिपूर्ति दिलाउनतर्फसमेत पहल गर्ने बताउनुभयो । त्यसैले धानबाली नष्ट भएका वास्तविक कृषकको विवरण संकलन गरेर राहत दिनेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । रासस



प्रतिक्रिया दिनुहोस्