Logo

कोशी व्यारेज, अरुण तेस्रो र पञ्चेश्वर परियोजनाका बारेमा प्रधानमन्त्री देउवा र मोदीबिच अन्तिम टुङ्गो लगाउने निश्चित



भदौ ७, काठमाण्डौ । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पूर्ण रुपमा सफल हुने दाबी गरेका छन् । प्रधानमन्त्री देउवा आफैँ अनुभवी र ज्ञानको कमी नभएका व्यक्ति भएकाले भ्रमण सफल बनाउने तर्क उपाध्यायले गरेका छन् । ऋषि धमलासँग कुरा गर्दै राजदुत उपाध्यायले राजनेताको छवी बनाएका देउवाले नेपालको तर्फबाट इच्छाशक्ति देखाएको र भारतको तर्फबाट पनि इच्छाशक्ति प्रकट गरेकाले भ्रमण सफल हुने विश्लेषण गरेका छन् ।
दुवै पक्षबाट सकारात्मक सोच बनाएर दुई देशका जनताको हितमा काम गर्नुपर्नेमा जोड दिदै उपाध्यायले यसपटकको भ्रमणमा पुराना समझदारीलाई कार्यान्वयनको पाटोमा लैजाने विषयमा वृहत छलफल हुने बताए ।
दुई देशको सिमा क्षेत्रमा भएका खोला नदीले निम्त्याउने गरेको बाढीको समस्या समाधानका लागि पानीको प्रबन्ध कसरी गर्ने भन्ने विषयमा पनि यसपटकको भ्रमणमा छलफल हुने राजदुत उपाध्यायको दाबी छ ।
बाढीको समस्याबारे भारतको उच्च तहमा समेत चिन्ता बढेको स्पष्ट पार्दै उपाध्यायले भने, “विहारका मूख्यमन्त्रीलाई पनि ठूलो चिन्ता र चासो छ । भारत सरकारको नेतृत्व तहमा पनि अब त केही गर्नुपर्छ भन्ने चिन्ता देखिएको छ ।”
प्रधानमन्त्री देउवाले कोशी बाँधका बारेमा पनि भारतीय पक्षसँग कुरा राख्ने दाबी राजदुतको छ ।
भारतको नेतृत्व तहबाट पनि पुराना सन्धी सम्झौताको कार्यान्वयनलाई जोड दिएको उपाध्यायले बताए । “भारतले सधैँभरी मेरो गोरुको बाह्रै टक्का भनेर साना साना कुरामा अल्झिनु हुँदैन । नेपाल पनि अल्झिनु हुँदैन” उपाध्यायले भने ।
दुई देशबिचको समस्या सकेसम्म आपसमा सुल्झाउने नसके तेस्रो पक्षको सहयोग लिएर भए पनि विन विन अवस्थामा जानुपर्ने सुझाब उपाध्यायको छ ।
अरुण तीन आयोजना अघि बढ्नका लागि कुनै समस्या नरहेको भन्दै अब अघि बढ्ने दाबी राजदुत उपाध्यायले गरेका छन् । पन्चेश्वर परियोजनाको विषयमा केही प्राविधिक विषयमा कुरा मिल्न नसकेको उपाध्यायले जानकारी दिए । तर उच्च तहको छलफलमा यो विषयमा पनि टुङ्गिने विश्वास उनको छ ।



प्रतिक्रिया दिनुहोस्