Logo

नेपाली कांग्रेस र राजपाबिच चुनावी तालमेलको प्रयास, प्रजातान्त्रिक शक्ति एक हुनुपर्नेमा देउवाको जोड



भदौ १३, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई एक आपसमा मिलेर चुनाव लड्ने प्रस्ताव गरेका छन् । प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावी तालमेलका लागि देउवाले प्रस्ताव राखेका हुन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेको देउवाले अबको चुनावमा प्रजातान्त्रिक धारका दलहरु एक हुनुपर्नेमा जोड दिदै चुनावी तालमेलको प्रयास गरेका हुन् । देउवाको प्रस्तावप्रति ठाकुर पनि सकारात्मक रहेको बताइएको छ ।

संविधान संशोधनमा नेकपा एमालेले सहयोग नगरेपछि एमालेसँग रुष्ट बनेको राजपा नेपाली कांग्रेससँग चुनावी तालमेलका लागि सकारात्मक बनेको हो । राजपाका नेताहरुले पनि एमालेबाहेकका दलहरुसँग चुनावी तालमेल गर्न सकिने बताउँदै आएका छन् ।

राजपाका एक नेता शरतसिंह भण्डारीले ऋषि धमलासँग कुरा गर्दै एमालेबाहेकका दलहरुसँग चुनावी तालेमल गर्ने बताएका थिए । अन्य नेताहरुले पनि यही बताउँदै आएका छन् ।

यसैबिच मंगलबार नेकपा एमालेले गरेको चुनावी कार्यक्रममा राजपाका कार्यकर्ताले अवरोध गरेका छन् । प्रदेश नम्बर २ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको कार्यक्रममा राजपाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए । ढुंगा हान्नेलाई माधव नेपालले आउने चुनावमा जमानत जोगाउनतर्फ लाग्न सुझाब दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्