Logo

अखिल क्रान्तिकारीको महाधिवेशन : उपराष्ट्रपतिका छोरा र उपमेयरसमेत उम्मेदवार, पहिलो पटक चुनावबाट नेतृत्व चयन हुँदै



भदौ १३, काठमाण्डौ । नेकपा माओवादी केन्द्र स्थापनाकालदेखि नै प्रजातान्त्रिक अभ्यासको विरोधीको रुपमा चिनिएको थियो । पार्टीभित्र अहिलेसम्म नेतृत्व चयनमा प्रजातान्त्रिक अभ्यास हुन सकेको छैन । यसअघि भएका महाधिवेशनमा विमितीसहित नै भए पनि चुनाव नगरी अध्यक्षसहित पदाधिकारी र केन्द्रिय सदस्य चयन गरेको थियो । तर यसपटक भने फरक दृश्य देखिएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको १२औँ सम्मलेनमा चुनावी रौनक देखिएको छ । सम्मेलनमा उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्बजनिक भएको छ ।


चुनावबाट चुनियने ३१ सदस्यीय पदाधिकारीको लागि २०२ जनाको उम्मेदवारी परेको छ । ३३ सदस्यीय पदाधिकारीमा ३१ जना निर्वाचनबाट चुनिन्छन् भने एक उपाध्यक्ष र एक उपमहासचिव मनोनित हुने व्यवस्था छ ।
अध्यक्ष पदमा अनिल शर्मा, मदन अर्याल र रञ्जित तामाङको उम्मेदवारी परेको छ ।
उपाध्यक्षमा ३५ र उपमहासचिवमा ३२ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्षको उम्मेदवारहरुमा उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दिपेश पुनसहित अमरदिप पराजुली, दिपक देवकोटा, तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, पञ्चा सिंह, पुरन केसी, अमिताभ बच्चन दास, खुसीराम चौधरीसहित ३५ जना छन् ।
उपराष्ट्रपति पुनका छोरा पुन विद्यार्थी राजनीतिसँगै समाजसेवामा पनि सक्रिय छन् ।

महासचिव पदमा नुवाकोटको बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगानासहित उत्तम कुमार अधिकारी, खेमबहादुर सिंह, राजेश्वरी सुवेदी, विष्णु भट्टराई, सुरेशबाबु शर्मा कँडेलले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, कोषाध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ । अर्जुनबहादुर थापा, केशव रावल, सागर कुमार चौधरी, यादव प्रसाद गजुरेल, देवबहादुर बोहोरा, नवराज ऐर, अर्जुन लुइँटेल र देव नारायण प्रमाणी कोषाध्यक्षका उम्मेदवार हुन् ।

सचिव पदमा बसन्ता भण्डारी, विष्णु महतसहित ११९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
माथि उल्लेखित उम्मेदवारहरुको प्रारम्भिक सूची मात्रै हो । यसमा अब दाबी विरोध, दावी विरोधमाथि छानबिन, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ । साँझ ७ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बुधबार नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुने छ ।



प्रतिक्रिया दिनुहोस्