Logo

नेपाली कांग्रेसको पद्धतिलाई शेरबहादुरजीले स्विकार्नुभएन : शेखर कोइराला



नेपाली कांग्रेस पार्टीभित्र कोइराला परिवारका राजनीतिज्ञलाई विशेष रुपले हेरिन्छ । पछिल्लो समय कांग्रेसभित्र कोइराला परिवारका सदस्यको भूमिका कमजोर बन्दै गएको आँकलन गरिएको छ । यिनै विषयमा डा. शेखर कोइरालासँग कुराकानी गरिएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले लिएको अन्तवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रदेश नम्बर २ को चुनावको तयारी नेपाली कांग्रेसले कसरी गर्दैछ ?
प्रदेश नम्बर २ का शीर्ष नेताहरु उम्मेदवार टुङ्गो लगाउने तयारीमा हुनुहुन्छ ।

नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा कुन दलसँग तालमेल गर्दैछ ?
स्थानीय तहको चुनावमा तालमेल गर्नु जरुरी नै छैन भन्ने मेरो मान्यता हो । तालमेल गर्ने नै हो भने पनि त्यसको जिम्मा स्थानीय तहलाई नै दिनुपर्छ । केन्द्रले हस्तक्षेप गर्नुहुँदैन ।

नेपाली कांग्रेसभित्र तपाईको भूमिका कमजोर भएको हो ?
मेरो भूमिका कमजोर भएको छैन । कसैले कमजोर बनाउन खोजेर पनि कमजोर हुँदैन । म आफैँ कार्यकर्तामाझ पुग्न सकिन भने मात्रै कमजोर हुन्छु ।

विमलेन्द्र निधीलाई कार्यबाहक सभापति बनाउँदा तपाईको केही भूमिका थियो ?
नेपाली कांग्रेसको पद्धतिलाई शेरबहादुरजिले स्विकार्नुभएन । राजनीतिक दल भनेको पद्धतिमा रम्ने हुनुपर्छ । उपसभापति नभएको खण्डमा वरिष्ठताको आधारमा महामन्त्रीलाई दिएको भए हुन्थ्यो । विमलेन्द्र निधीलाई उपसभापति बनाएरै दिएको भए झन राम्रो हुन्थ्यो । त्यसैले कार्यबाहक सभापतिको जिम्मेवारी दिने विषयमा सभापति देउवा पद्धति अनुसार चल्न सक्नुभएन ।

यो विषयलाई पार्टीभित्र किन उठाउनुहुन्न ?
पार्टीभित्र उठाउने भनेको केन्द्रिय समितिमा हो । अबको केन्द्रिय समिति बैठकमा अवश्य उठ्छ ।

कार्यबाहक सभापतिको जिम्मेवारी आफुले पाउनुपर्छ भन्ने तपाईको कुरा हो ?
मैले त्यसो कहाँ भनेको छु ? म त केन्द्रिय समितिमा धेरै तल छु ।

तपाईं त केन्द्रिय सदस्यमा सबैभन्दा धेरै भोट ल्याएर विजयी हुनुभएको हो नि ?
म नेपाली कांग्रेसका कार्यकर्तामाझ लोकप्रिय भएकाले सबैभन्दा धेरै मत ल्याएको हुँ । तर म त अहिले कार्यसम्पादनमा पनि छैन । अनि मैले कसरी कार्यबाहक सभापति दाबी गर्छु ? म मेरो हैसियतमा बसेर काम गरिरहेको छु । मलाई पार्टीभित्र कसैको दयामाया चाहिँदैन ।

नेपाली कांग्रेस पार्टीभित्र कोइराला परिवार एक हुँदैछन् । तपाईंहरु पार्टीभित्र पहुँच र क्षमता बढाउने अभियानमा लाग्नुभएको हो ?
त्यस्तो होइन । हामीहरु तिनै जना कोइराला राजनीति गर्दैछौँ । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । यो पार्टी कमजोर भयो भने देश कमजोर हुन्छ । त्यसैले हामी एक ठाउँमा उभिन खोजेका हौँ ।

तपाईहरु एक ठाउँमा उभिएपछि त पार्टी सभापतिलाई चुनौति होला नि ?
किन ? हामीले किन चुनौति दिने ? शेरबहादुरजीले काम गर्नुभएको छैन भन्ने होइन । तर पार्टीलाई पद्धति अनुसार चलाउनुपर्छ । आगामी निर्वाचनहरुमा नेपाली कांग्रेसलाई जिताऔँ भन्ने हाम्रो अभियान हो ।

सभापतिलाई असहयोग गरेको जस्तो देखिएको छ नि ?
हामीले शेरबहादुर देउवाको विकल्प खोजेको होइन । प्रधानमन्त्री देउवाले गरेको राम्रो कामलाई हामीले सहयोग गरिरहेका छाँै । तर पार्टीको केन्द्रिय समितिको बैठकको निर्णय विपरित भएको काममा त हामी छाप लगाउन सक्दैनौँ ।

भारत भ्रमणको विषयमा तपाईको धारणा के हो ?
प्रधानमन्त्रीको हैसियतले देउवाले सद्भाव भ्रमण गर्नुभयो । भ्रमणका क्रममा जुन सम्मान पाउनुभयो, त्यो नेपाली कांग्रेस र देशकै लागि अत्यन्तै राम्रो हो । यसमा कसैले पनि शंकै नगरे हुन्छ । वान टु वान वार्तामा के कुरा भयो त्यो हामीलाई सरोकार हुँदैन । सार्वजनिक रुपमा भएका भेट र व्यक्त गरिएका विचारलाई हामीले जज गर्ने हो । समग्रमा भारत भ्रमणलाई जसरी ह्याण्डल गर्नुभयो, त्यो राम्रो छ । ४६ बुँदे घोषणापत्रलाई धेरै इस्यु बनाउनु जरुरी छैन ।

संविधान संशोधनका विषयमा दिएको अभिव्यक्तिलाई कसरी लिनुहुन्छ ?
देउवाले लिखित भाषण बोल्दै गर्दा बिचैमा रोकिएर संविधान संशोधनका विषयमा बोल्नुभयो । यो असाध्यै ठूलो गल्ति होइन । तर नबोलेको भए धेरै राम्रो हुन्थ्यो । नेपाली जनताको संवेदनशीलतालाई ख्याल गरेको भए हुन्थ्यो । तर त्यो अभिव्यक्तिले कुनै नोक्सान गर्दैन । यसलाई ठूलो इस्यु बनाउनुपर्ने कुरा होइन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot