Logo

राष्ट्रवादी शक्तिहरु एक भएर चुनावमा जानको लागि गृहकार्य सुरु भयो : गिरी



काठमाडौं, १५ भदौ । राप्रपाका नेता दिलनाथ गिरीले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन तालमेलबारे आफ्नो पार्टीले अहिल्यै नै ठोस निर्णय नगरेपनि राष्ट्रवादी शक्तिसँग तालमेल गर्ने स्पष्ट पारे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गिरीले भने,‘चुनावमा तालमेल गर्नेबारे हामीले अहिल्यै नै ठोस रुपमा निर्णय लिएका पनि छैनौं, हामी यतिवेला हाम्रा एजेण्डा स्थापित गर्न केन्द्रित छौं।’

यद्धपी उनले स्थानीय तहमा पार्टीले तालेमलबारे आवश्यक ठाने केन्द्रले कुनै पनि हस्तक्षेप नगर्ने जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि चुनावी तालमेल हुनेबारे संभावना औंल्याए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा गिरीले थपे,‘एमालेसँग चुनावी तालमेल हुन्छ।’ गिरीले राष्ट्रवादी शक्तिहरुवीच एक भएर चुनावमा जानेबारे गृहकार्य सुरु भएको समेत जानकारी दिए ।

संविधान संशोधन प्रस्तावलाई नियोजित रुपामा नै असफल बनाउने उद्देश्य सत्तारुढ दलले राखेकोले असफल भएको बताउँदै गिरीले भने,‘त्यतिमात्रै नभएर सत्तारुढ दलले प्रस्तावको विपक्षमा मतदान गर्ने दलहरुलाई कमजोर बनाउने रणनीति लिएका छन्, तर अब संविधान सर्वस्विकार्य भैसकेको छ, किनकी राजपाले पनि निर्णय स्विकारेर चुनावमा जाने निर्णय गरेको छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको बेला अब आउने निर्वाचनमा दुई तिहाई ल्याएर संविधान संशोधन गर्ने भनेर आश्वस्त पार्नु र त्यसको लागि तपाईहरुको साथ र सहयोग चाहियो भन्नु गैरजिम्मेवार र गलत भएको उनको आरोप थियो । उनले भने,‘उहाँको यो अभिव्यक्तिले नेपाली जनता अपमानित भएका छन्।’

संशोधन प्रस्तावको विपक्षमा मत हाल्नेलाई नंग्याउँने सत्तारुढ दलको रणनीतिलाई नेपाली जनताले फेल गरिदिने समेत उनको दाबी थियो । उनले भने,‘अन्तिम निर्णय गर्ने अधिकार जनतामा सुरक्षित छ, अब मुलुकमा राष्ट्रवादी र गैर–राष्ट्रवादी शक्तिहरुको धुव्रीकरण हुन्छ, हामी जहिल्यैपनि राष्ट्रवादी धुव्रिकरणमा उभिन्छौं।’

 



प्रतिक्रिया दिनुहोस्