Logo

‘प्रधानमन्त्री भारत भ्रमणमा त जानु भयो, तर लम्पसार परेर आउनुभयो’ : माधव नेपाल



चितवन, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले भ्रष्टाचारीलाई निर्वाचन लड्न दिनुपर्ने प्रस्ताव लिएर संसोधन दर्ता गराउनु निकै लज्जास्पद विषय भएको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले काँग्रेसको यो प्रस्तावले दुँनियालाई लज्जित बनाउने काम गरेको भन्दै यसले कांग्रेसको साखलाई नै गिराएको बताएका हुन् ।

सत्तामा बसेर कांग्रेसले जनबिरोधी काम गर्दै गएकोले एकदिन उसको हैसियत प्रजापरिषदको जस्तै हुने नेता नेपालले दाबी समेत गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको प्रसङ कोट्याउँदै नेता नेपालले भने ‘प्रधानमन्त्री भारत भ्रमणमा त जानु भयो, तर लम्पसार परेर आउनुभयो, नेपालको आन्तरीक बिषय सार्वभौम संसदको अधिकारको बिषयमा भारतलाई समेत हकदार बनाउने प्रयास उहाँले गर्नुभयो ।’

नेकपा एमालेमाथि मधेशमा भैरहेको आक्रमण अतिवादी राजनीतिक र अपराधीक मानसिकताबाट सिर्जित भएकोले सरकारले यस बिषयमा कडा कदम उठाउनुपर्ने नेता नेपालले बताए । जसले जतिसुकै एमाले बिरोधी प्रचार वा आक्रमण गरेपनि प्रदेश नम्वर २ मा एमाले नै पहिलो पार्टी बन्ने उनले दावी गरे ।

 



प्रतिक्रिया दिनुहोस्