Logo

आज साँझसम्म उम्मेद्धवार टुँग्याउने भन्दै प्रमुख दलहरु आन्तरिक बैठकमा व्यस्त



काठमाडौं, १८ भदौ । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन मिति नजिकिएसँगै प्रमुख राजनीतिक दलहरु निर्वाचन हुने १३६ स्थानीय तहका उम्मेदवार छानिरहेका छन् ।

प्रमुख दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले आज साँझसम्म उम्मेद्धवार टुँगो लगाउने तयारी गरेका छन् ।

उम्मेदवारी मनोनयन गर्ने समय आउन २ दिनमात्र बाँकी रहँदा प्रमुख राजनीतिक दलहरु उम्मेदवार टुङग्याउने प्रयासमा जुटेका हुन् । स्रोतका अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले पनि आजै उम्मेद्धवार टुँगो लगाउने छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा बालुवाटारमा केहिबेरमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाउने स्रोतको दाबी छ ।

उता प्रमुख प्रतिपक्ष दल एमालेले शनिबार वीरगन्ज महानगरपालिका र कलैया र सीमरा उपमहानगरपालिकाका उम्मेदवार तय गरेपनि बाँकीको अझै टुङग्याएको छैन ।

उम्मेदवार टुंगो लगाउनकै लागि आज पनि एमालेले बैठक बोलाएको छ । आईतबार ४ बजे बस्ने स्थायी कमिटी बैठकले जनकपुर उपमहानगरकसहितका अरु स्थानीय तहका उम्मेदवारको नाम टुंगो लगाउने एमाले नेता रघुवीर महासेठले जानकारी दिए ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले शनिबारै २ नम्बर प्रदेशका स्थानीय तहका उम्मेदवारको टुङगो लगाउने भने पनि सकेन । प्रमुख दलहरु खासगरी कोसँग तालमेल गर्दा जित्न सकिन्छ भन्ने हिसाव कितावमा व्यस्त भएकाले पनि उम्मेदवार छनोटमा ढिलाई भएको बताइएको छ ।

राजपालगायतका दलहरुमा पनि उम्मेदवार छान्न सकस परिरहेको छ । यता संघीय समाजवादी फोरमले भने अधिकांश स्थानीय तहमा उम्मेदवारको टुंगो लगाइसकेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्