Logo

त्रिपाठीलाई अध्यक्ष मण्डलमा बढुवा गरेको भन्दै राजपामा भाँडभैलो, उम्मेद्धवार चयन गर्न अझै सकस



काठमाडौं, १९ भदौ । राष्ट्रिय जनता पार्टी नेपाल केन्द्रीय समिति पुनर्गठन भएसँगै अध्यक्ष मण्डलका सदस्यहरुवीच नै चर्को मतभेद देखिएको छ ।

लामो समयको विवाद र आरोप–प्रत्यारोपलाई किनारा लगाउँदै राजपाले सह–अध्यक्ष हृदयेश त्रिपाठीलाई अध्यक्ष मण्डलमा स्थायी आमन्त्रित सदस्यका रूपमा मनोनित गरेपछि अन्य शीर्ष नेताहरुले विरोध गरेका छन् ।

उक्त विरोधका कारण राजपाले अहिलेसम्म पनि स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा उम्मेद्धवारको नाम टुँगो लगाउन सकेको छैन् । आफूभन्दा जुनियर नेताहरू राजपा अध्यक्ष मण्डलमा सदस्य रहेको भन्दै त्रिपाठीले बैठकसमेत बहिष्कार गर्दै आएका थिए ।

त्रिपाठीले यसरी विरोध जनाउँदै आएकोले उनलाई फकाउनको लागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर लगायतका नेताहरुले उनलाई बढुवा गरेका हुन् । उनले आफ्नो कार्यसमितिमा रहेका सदस्यलाई नेता मान्न नसक्ने बताउँदै आएका थिए । यदि आफूलाई उचित स्थान नदिए उनले छुट्टै पार्टी गठन गर्ने चेतावनीपछि त्रिपाठीलाई अध्यक्ष मण्डलका सातौं सदस्य मनोनीत गरिएको छ ।

समितिमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, बृशेषचन्द्र लाल, गोविन्द चौधरी, लक्ष्मणलाल कर्ण सदस्य छन् ।

यसैगरी, विजय गुप्ता, नरसिंह चौधरी, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर साह, रामनरेश राय, रानी तिवारी, रामकुमार मण्डल, निर्जला राउत, शेखरकुमार सिंह, निलम बर्मा, रामनारायण सिंह, मालामती देवी राना थारु, गजाधर यादव, गंगाराम यादव र चन्देश्वर झा रहेका छन् ।

राजपाले पार्टीका सबै महासचिव, सहमहासचिव र सचिव सम्मिलित केन्द्रीय सचिवालय समन्वय समितिसमेत गठन गरेको छ । जसमा जितेन्द्र सोनल, मनिषकुमार सुमन, पेशल ढकाल, केशव झा, सुनिल रोहित, चन्देश्वरप्रसाद सिंह र चन्दा चौधरी रहेका छन् ।

त्रिपाठीलाई अध्यक्ष मण्डलमा ल्याएको भन्दै राजपामा यतिवेला हंगामा भएको छ। ७ जनाको अध्यक्ष मण्डल बनाउने हो भने अरुलाई किन नबनाउने ? भन्दै अन्य असन्तुष्ट नेताहरुले आक्रोश पोखेका छन् । त्रिपाठीलाई ल्याउन नहुनेमा अनिल झा, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, राजकिशोर यादव, रामनरेश राय लगायतका नेताहरु छन् ।

राजपाले सार्वजनिक रुपमा २ नम्बर प्रदेशको निर्वाचनमा कसैसँगपनि तालमेल नगर्ने निर्णय गरेपनि भित्रभित्रै उसले आवश्यकत्ता हेरेर तालमेल गर्न खोजिरहेको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्