Logo

स्वेच्छचारी नियुक्तीहरु नरोके वर्तमान सरकारको विकल्प खोज्ने रावलको चेतावनी



काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले स्वेच्छचारी रुपमा प्रादेशिक प्रशासकहरु नियुक्ती गरिरहेको भन्दै उक्त नियुक्ती तत्काल नरोके एमालेले वर्तमान सरकारको विकल्प खोज्ने चेतावनी दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले वर्तमान सरकारको म्याद चार महिना मात्रै बाँकी रहेको उल्लेख गर्दै भने,‘यो सरकारको म्याद अब चार महिनामात्रै बाँकी छ, तर अहिले प्रदेशहरुमा धमाधम प्रशासकहरु नियुक्ती गरिरहेको छ भन्ने कुरा आएको छ, त्यसको लागि हामीसँग कुनै परामर्श गरेको छैन्, यदि यसैगरि स्वेच्छचारी ढंगले नियुक्ती गरियो भने एमालेले प्रतिवाद गर्छ, हामी हदैसम्मको कदम चाल्न बाध्य हुनेछौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले निर्वाचन मिति घोषणा भैसकेको र निर्वाचन आचारसंहिता समेत लागु भैसकेको अवस्थामा वर्तमान सरकारले सर्वोच्च अदालतको फैसलाविरुद्ध मनपरी र स्वेच्छचारी ढंगले कर्मचारीहरुलाई जथाभावी चलाउने काम गरेको आरोप लगाए । उनले भने,‘निर्वाचन आयोगकै सचिवलाई सरकारले तीन चोटी सरुवा गर्यो, अब यस्तो काम बन्द गरोस्।’

त्यस्तै उनले वर्तमान सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको समेत आरोप लगाए । रावलले भने,‘वर्तमान सरकारले नेपाल स्काउटको २२ रोपनी जग्गा हत्याउन प्रयास गर्यो, यो कुरा आयोगका पदाधिकारीहरुले थाहा पाएर विरोध गर्नुभएको थियो, सरकारले आयोग नै विघटन् गर्यो।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको बेला आफ्नो देशको प्रतिरक्षा गर्नुको साटो चाकडीको भाषणा गरेको समेत आरोप लगाए । रावलले थपे,‘नेपाली जनता लज्जित भएका छन्, हाम्रो संसदको घोर अपमान भएको छ।’

रावलले प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा टिप्पणी गर्दै भने,‘उहाँले यो देशलाई सार्वभौमसत्ता सम्पन्न ठान्नुभएको छ वा कसैको इकाई ? भ्रमणका बेला भएको संयुक्त वक्तव्यमा समेत कतिपय बुँदामा नेपाली मनलाई घोच्ने कुराहरु उल्लेख भएका छन्।’ देउवाको भारत भ्रमणको बेलामा भएका कतिपय गम्भिर विषयमा आफूले प्रमुख प्रतिपक्षी दलको हैसियतमा संसदमा कुरा उठाएपनि प्रधानमन्त्री देउवाले सार्वभौमसत्ता सम्पन्न संसदमा आएर बोल्न नसकेको गुनासो पोखे ।

रावलले अघि थपे,‘हेर्दै जानुहोला, नेपाली जनताहरुले यस्ता खाले काम गर्नेहरुलाई यही निर्वाचनमार्फत दण्डित गर्नेछन्।’ उनले प्रदेश नम्बर २ को निर्वाचनमा समेत आफ्नो पार्टी पहिलो हुने दाबी गरे । रावलले भने,‘म तिलाठीका जनतालाई भन्न चाहान्छु, बाढी डुबानको दिर्घकालिन समाधान हामी दिन्छौं, नेकपा एमालेले मात्रै दिर्घकालिन समाधान गर्न सक्छ, तपाईहरुको पक्षमा आवाज उठाउने हामी मात्रै हौं।’

त्यस्तै उनले एमालेलाई अहिले नै सरकारमा जान हतार नभएको समेत जिकिर गरे । रावलले भने,‘हामीलाई दुई/चार दिन सरकारमा जान रुचि छैन्, एमालेले अब बहुमत ल्याएर नेपाली जनताहरुको ढुकढुकीमा बसेर बहुमतको सरकार चलाउँछ।’ यद्धपी उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय हित मिच्दै गए बाध्य भएर आफ्नो पार्टीले कठोर र दृढ पाईला चाल्ने चेतावनी दिए ।

उनले संशोधन प्रस्ताव संसदमा असफल भएपछि पनि सरकारमा किन टाँसिएर बसेको होलान् भन्दै वर्तमान सरकारका प्रमुखको बारेमा प्रश्न उठाए ।
प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रवीच भएको चुनावी गठबन्धनप्रति टिप्पणी गर्दै रावलले भने,‘यो गठबन्धनको औचित्य के हो ? कुन नैतिकता र विचार वा सिद्धान्तका आधारमा उहाँहरुले गठबन्धन गर्नुभएको छ ? तर जनताले सबै कुरा राम्रोसँग बुझेका छन्, जनताले अब राष्ट्रिय हितमा आँच ल्याउनेहरुलाई कुनैपनि हालतमा मत हाल्नेछैनन्।’

उनले वर्तमान सरकार गठबन्धन बनाउन कान फुक्ने शक्तिकै ईशारामा अहिले चुनावमा पनि गठबन्धन बनेको आरोप लगाए । रावलले थपे,‘कांग्रेस र माओवादी केन्द्रले निर्वाचन हार्ने डरले, पराजित मानसिकताका कारण गठबन्धन गरेका हुन्, जो जसले तालमेल गरेपनि हाम्रो पार्टीले जित हाँसिल गर्छ, हामी राजमार्गमात्रै होईन, सबैतिर बलियो छौं, निर्वाचन हुन दिनुहोस्, नतिजा आएपछि थाहा पाउनुहुनेछ।’

उनले वर्तमान सरकार संक्रमणकालिन सरकार भएको उल्लेख गर्दै निर्वाचन आचार संहिताको पूर्ण पालना गर्नुपर्ने र मनपरी काम रोक्नुपर्ने बताए । निर्वाचनको मुखमा आएर एमाले उम्मेद्धवारको घरमा बम पड्काउने र ढुँगामुढा हान्ने काम गरिएको भन्दै तत्काल यस्ता कार्य गर्नेलाई कारवाही गर्नुपर्ने अन्यथा यस्तो परिस्थितिबाट उत्पन्न हुने अवस्थाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने उनको चेतावनी थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot