भदौ २२, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नम्बर २ को स्थानीय चुनावमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । ऋषि धमलासँग संक्षितप्त कुरा गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले १३६ स्थानीयतहमध्ये ८० वटा तहमा जित हात पारेर पहिलो ठूलो दल बन्ने दाबी गरे ।
प्रदेश नम्बर २ को चुनावका लागि प्रभावकारी रणनीति तय गरेर मधेश जाने तयारीमा देउवा छन् । विगतमा त्यस क्षेत्रमा भएको कांग्रेसको साँख जोगाउनुपर्ने चुनौतिमा रहेको कांग्रेसले पहिलो ठूलो दल बन्नका लागि आन्तरिक रुपमा रणनीति बनाइरहेको देउवाले बताए ।
७० सालको संविधानसभामा त्यस क्षेत्रमा सबैभन्दा धेरै स्थानमा जित हात पारेको कांग्रेसले विगतको अवस्थालाई जोगाउनका लागि पनि रणनीतिसहित चुनावमा जानुपर्ने देखिएको छ । चार वर्षको अवधिमा राजनीतिक घटनाक्रमले धेरै मोड लिइसकेकाले संविधानसभाको चुनावको जस्तै राम्रो नतिजा ल्याउने गाह्रो छ भन्ने बुझेका देउवाले विमलेन्द्र निधीलाई चुनावमा सफलता हात पार्न मुख्य जिम्मेवारी पनि दिएका छन् ।
केही ठाउँमा माओवादी केन्द्रसँग तालमेल गरेर चुनाव जित्ने लक्ष्य कांग्रेसको छ ।
संविधान संशोधनका सवालमा लचक देखिएर मधेशका जनताको मन जित्ने प्रयास गरेको कांग्रेसले संशोधन प्रस्ताव पास गराउन नसके पनि संशोधनको मुद्दालाई जिवितै राखेको छ ।
संविधान संशोधनमा सहयोग नगरेको एमाले मधेशमा कमजोर छ भन्ने अनुमान भइरहेका बेला देउवा भने कांग्रेस ठूलो दल बन्ने विश्वास समेत लिएका छन् । यद्यपी यसअघिको चुनावमा राम्रो जनमत बटुलेको एमालेले मधेशमा जित हासिल नगर्ला भन्न सकिदैन । अर्कोतिर मधेशको मुद्दालाई बाकेर राजनीति गरेको राजपा पनि ठूलै चुनौति बनेर देखा परेको छ ।
यद्यपी मधेशको जनमत नेपाली कांग्रेसतिर रहेको देउवाको जिकिर छ । चुनावका लागि केहि दिनमा नै मधेश जाने देउवाले बताएका छन् ।