Logo

जनकपुरमा रिपोर्टर्स क्लबको चुनावी बहस : दलका नेताहरुवीच आरोप–प्रत्यारोप, आ–आफ्नो दलले जित्ने यस्तो छ दाबी



जनकपुर, २२ भदौ । असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनमा आ–आफ्नो पार्टीले जित्ने प्रमुख दलका शीर्ष नेताहरुले दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपाल–जनकपुर शाखाले जनकपुरको बार एशोसियसनको कार्यालयमा आयोजना गरेको ‘प्रदेश नम्बर २ को निर्वाचन : दलहरुको सहभागिता’ नामक विशेष अन्तरक्रियामा बोल्दै नेताहरुले यस्तो दाबी गरेका छन् । उनीहरुले निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका हुन् ।

प्रमुख दल नेपाली कांग्रेसका नेता तथा कृषिमन्त्री रामकृष्ण यादवले २ नम्बर प्रदेशमा आफ्नो पार्टी नै पहिलो हुने दाबी गरे । मधेशको विकासको लागि आफ्नो पार्टीले मात्रै काम गरेको उल्लेख गर्दै मन्त्री यादवले थपे,‘कांग्रेस मधेशी जनताको अधिकारको लागि लडेको पार्टी हो, मधेशको विकासको लागि हाम्रो पार्टीजति कसैलेपनि योगदान गरेकै छैनन्, तपाईहरु ईतिहाँस हेर्न सक्नुहुन्छ, त्यसैले यो पटकको निर्वाचनमा जनताले हाम्रो पार्टीलाई अत्यधिक मत दिएर पहिलो बनाउनेछन्।’

क्लब शाखा अध्यक्ष गणेश रायको सभापतित्वमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै मन्त्री यादवले आउने निर्वाचन संविधान कार्यान्वयनको लागि महत्वपूर्ण खुड्किलो भएको विश्वास दिलाए । उनले थपे,‘आउने चुनाव मधेशको विकासको लागि मात्रै नभएर समग्र मुलुकको लागि पनि उत्तिकै महत्वपूर्ण छ, संविधान कार्यान्यवनको लागि यसले महत्वपूर्ण टेवा पुर्याउनेछ भन्ने हामीले विश्वास लिएका छौं।’

उनले आफ्नो पार्टीको अग्रसरता र पहलकदमीका कारण संविधान जारी भएको बताए । मन्त्री यादवले थपे,‘कांग्रेस एमालेजस्तो कुरा गर्ने पार्टी होईन, हामी काम गरेर देखाउँछौं, र देखाएका पनि छौं, हेर्दै जानुहोला, २ नम्बर प्रदेशमा हामी पहिलो पार्टी बन्छौं।’

उनले वर्तमान सरकारले जनताको हितको लागि काम गरिरहेको समेत जिकिर गरे । उनले भने,‘अहिलेको सरकार मुलुकको आर्थिक समृद्धिको लागि गम्भिर भएर काम गरिरहेको छ, मुलुक र जनताको विकासको लागि हामीले काम गरेको कुरा जनताहरुले राम्रोसँग बुझेका छन्।’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य झल्कु यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मधेशविरोधी पार्टी भएको आरोप लगाए । उनले थपे,‘एमाले मधेश विरोधी पार्टी हो, मधेशी जनतालाई अधिकारसम्पन्न बनाउन उसले कहिल्यैपनि चाहेको देखिएन्, अहिलेपनि संविधान संशोधनको विरोधमा एमाले उभिएको छ।’

यादवले एमालेलाई जनताले किन मत हाल्ने भन्दै प्रश्न समेत उठाए । उनले भने,‘एमालेलाई मधेशबाट पत्तासाफ गर्नुपर्छ, जनताले एमालेलाई राम्रोसँग चिनेका छन्।’ एमाले संघीयता, गणतन्त्र लगायत परिवर्तनको विरोधी भएको समेत उनको आरोप थियो । उनले मधेश र मधेशी जनताको अधिकारको लागि सबैभन्दा धेरै लड्ने र एजेण्डा बोक्ने पार्टी नै आफ्नो पार्टी भएको समेत जिकिर गरे ।

नेपाल लोकतान्त्रिक फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीले एमाले संविधान संशोधनको विरोधी पार्टी भएकोले जनताले एमालेलाई भोट दिनै नसक्ने दाबी गरे । उनले भने,‘एमाले मधेशी जनतालाई दिन हुन्न भन्ने पार्टी हो, उसले संशोधनको जहिल्यैपनि विरोध नै गरिरह्यो, उसले संशोधनको विपक्षमा मत हालेको छ, त्यसैले उसलाई जनताले भोट दिँदैनन्।’

चौधरीले आफ्नो पार्टीका अध्यक्ष एवम् वर्तमान उपप्रधानमन्त्री विजयकुमार गच्छदार नै संविधान जारी गर्दाका मुख्य सूत्रधार भएको जिकिर गरे । उनले थपे,‘१६ बुँदे गराएर प्रमुख दलहरुलाई संविधान जारी गर्दा एक ठाउँमा ल्याउने व्यक्ति नै हाम्रो पार्टीका अध्यक्ष हुनुहुन्छ।’ त्यस्तै उनले पछिल्लो समय संविधान संशोधनको पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत एक ठाउँमा उभ्याउन नेता गच्छदारले मुख्य भूमिका निर्वाह गरेको बताए ।

त्यस्तै उनले मधेशको विकास र समृद्धिको लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताए । उनले भने,‘मधेशको विकासको लागि हाम्रो पार्टीले विगतदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ, भोलिका दिनमा पनि हामी सशक्त भूमिका निर्वाह गर्नेछौं।’

चौधरीले एमालेले मधेशी जनतालाई युपी र विहारको भनेर संज्ञा दिएको उल्लेख गर्दै भने,‘आफ्नै देशका जनतालाई युपी र विहारको भनेर भन्ने एमालेलाई जनताले भोट दिँदैनन्, एमाले मधेशप्रति अनुदार पार्टी हो।’

राष्ट्रिय जनता पार्टी नेपालका सह–महामन्त्री रमण पाण्डेले एमाले मधेश विरोधी पार्टी भएको आरोप लगाए । उनले अबको निर्वाचनमा एमालेलाई मधेशी जनताले देखाईदिने चेतावनी दिए ।

उनले एमालेमात्रै नभएर मुख्य दलहरु कांग्रेस र माओवादी केन्द्रपनि मधेश विरोधी पार्टी भएको आरोप लगाए । उनले भने,‘संविधान जारी गर्दा यी तीन ठूला दलहरु मिलेर जारी गरेका हुन्, एउटा पार्टीलाई मात्रै दोष दिनुहुँदैन्।’

यो पटकको निर्वाचनमा मधेशी जनताले ठूला दलहरुलाई भोट नदिने उनको विश्वास थियो । पाण्डेले थपे,‘मलाई विश्वास छ, जनताले यस पटक आफूहरुलाई धोका दिनेलाई कुनैपनि हालतमा भोट दिनेछैनन्।’

त्यस्तै संघीय समाजवादी फोरम नेपालका नेता डा. रामस्वार्थ राय यादवले मधेशको हितको लागि लड्ने नेता आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव नै भएको दाबी गरे ।

उनले थपे,‘त्यसैले मधेशको हकदार उपेन्द्र यादव हो, संघीयता कार्यान्वयनको लागि सबैभन्दा बढि लड्ने पार्टी नै हाम्रो पार्टी हो।’ उनले मधेशी जनताहरुले यस पटक आफ्नो पार्टीलाई विजयी बनाउने समेत उद्धघोष गरे ।

नेता रायले मधेशमा आफ्नो पार्टीको विकल्प नरहेको समेत जिकिर गरे । उनले थपे,‘त्यसैले हामीले एक्लै चुनाव लडेका छौं, जनताले अत्यधिक बहुमतले हामीलाई विजयी गराउनेछन्, मधेशको विकास र समृद्धिको लागि हामी पूर्ण प्रतिबद्ध छौं।’

त्यस्तै राजपा नेपालका केन्द्रिय सदस्य परमेश्वर साहले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरे । उनले मधेशलाई अधिकार सम्पन्न र समृद्ध बनाउन ठूला दलहरुले नचाहेको आरोप लगाए ।

उनले विजय कुमार गच्छदारलाई अवसरवादी नेताको रुपमा चित्रण गरे । उनले थपे,‘गच्छदार मधेशको विरोधी नेता हो, उहाँले कहिल्यैपनि मधेशको हितको लागि काम गर्नुभएको छैन, अहिलेपनि उहाँले डबल स्ट्याण्ड देखाईरहनुभएको छ, यो कुरा सारा मधेशी जनताहरुलाई थाहा छ, उहाँ साँच्चिकै मधेश प्रेमी नेता हो भने सरकार छोडेर आउनुहोस्, अनिमात्रै हामी विश्वास गर्छौं, होईन भने यसरी जनता ढाँट्ने काम बन्द गर्नुहोस्।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका केन्द्रिय सभापति एवम् बरिष्ठ पत्रकार ऋषि धमलाले आउने चुनाव मुलुक र जनताको लागि अत्यन्तै महत्वपूर्ण भएको चित्रित गर्दै संविधान कार्यान्वयनको लागि पनि सम्पूर्ण जनताहरुले मतदानमा सहभागिता जनाउनुपर्ने बताए ।

धमलाले संघीयता, गणतन्त्र र संविधान कार्यान्वयनको लागि पनि निर्वाचन अनिवार्य भएको उल्लेख गर्दै २ नम्बर प्रदेशको निर्वाचनमा पनि अत्यधिक जनताले सहभागिता जनाउनुपर्नेमा जोड दिए । उनले थपे,‘मलाई विश्वास छ, जनताहरुको उल्लेखनीय सहभागिता हुनेछ, आफ्नो मत हाल्न जनता आँतुर भएको मैले देखेको छु।’

उनले आर्थिक समृद्धिको लागि पनि निर्वाचन महत्वपूर्ण आधार भएकोले मधेशका विभिन्न सडक सञ्जालहरुको वर्तमान अवस्था कुरुप रहेको उल्लेख गर्दै सडकहरुको स्तरोन्नतीको लागि पनि निर्वाचन कोशेढुँगा सावित हुने विश्वास दिलाए ।

धमलाले रिपोर्टर्स क्लब नेपालले निर्वाचन समयमै सम्पन्न गर्नको लागि आफ्नो ठाउँबाट विभिन्न जनदबाब कार्यक्रमहरु गर्दै आएको उल्लेख गर्दै यो पटकको निर्वाचनलाई भयरहित, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनको लागि चुनावी अभियान लिएर आफू मधेश झरेको स्पष्ट पारे । उनले निर्वाचन आचारसंहिता समेत पालना गर्न अपिल गरे ।



प्रतिक्रिया दिनुहोस्