Logo

प्रधानमन्त्रीको रुपमा मधेशी जनताको लागि जे मिहिनेत गरेँ, त्यसको फल अहिले लाग्दैछ : पुष्पकमल दाहाल



पुष्पकमल दाहाल, अध्यक्ष, नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रदेश नम्बर २ को चुनावका लागि मधेशमा सक्रिय छन् । कुनै बेला देशकै सबैभन्दा ठूलो दल माओवादीलाई अहिले जनमत आफ्नो पक्षमा पार्न निकै चुनौति देखिएको छ । सबै दलले प्रदेश नम्बर २ मा आफ्नो पार्टी पहिलो ठूलो दलको रुपमा स्थापित हुने दाबी गरिरहेका छन् । माओवादी केन्द्रको अवस्था के छ त ? प्रदेश नम्बर २ को चुनावलाई लक्षित गरी ऋषि धमलाले दाहालसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीमा नेपाली कांग्रेससँगको गठबन्धनको आयुदेखि शान्ती प्रक्रियाका बारेमा पनि छलफल भएको छ । प्रस्तुत छ, दाहालसँगको अन्तरवार्ताको पूरा अंश ।

तपाई प्रदेश नम्बर २ मा हुनुहुन्छ । मधेशका जनताले के खोजेका रहेछन् ?
सबैभन्दा पहिलो म यहाँका जनतालाई धन्यवाद दिन चाहन्छु । जनतामा नयाँ जागरण पैदा भएको मैले देखेको छु । राजनीतिक र भौतिक जागरण जनतामा पाएँ । जनतामा मर्निङवाक गर्ने कल्चर भएको रहेछ । स्वास्थ्यप्रति सबै सचेत भएको देखेँ । स्वास्थ्यसँगै राजनीतिक चेतना पनि बढेको छ । २ नम्बर प्रदेशका सबै ठाउँमा लगातार घुमिरहेको छु । ठूलो उत्साह जनतामा पैदा भएको छ । नयाँ परिवर्तनका ल्याउने हिसाबले नयाँ नेतृत्वको खोजी मधेशका जनताले गरेका छन् । यस क्षेत्रमा हाम्रो पार्टीको पर्फरमेन्स राम्रो हुन्छ ।

परिवर्तनका पृष्ठभूमि हेर्ने हो भने तपाईको भूमिका धेरै ठूलो छ । अहिलेको समयसम्म आइपुग्दा जनताले कुन दललाई कसरी बुझेको पाउनुहुन्छ ?
गिरिजाबाबुसँग हस्ताक्षर गरेर नै अहिले देश संघिय लोकतान्त्रिक गणतन्त्रको यात्रामा छ । गिरिजाबाबु जाँदाजाँदै हस्पिटलबाट के भन्नुभयो भन्ने कुरा आम नेपाली जनतालाई थाहा छ । देश तपाईलाई जिम्मा लगाएर जाँदैछु भन्नुभएकै हो । त्यो जिम्मेवारी मैले महसुश गरेकै छु । मधेशको सवालमा म दोस्रो पटक प्रधानमन्त्री भएपछि धेरै काम गरेको छु । मधेश आन्दोलनलाई सम्बोधन गर्नका लागि घाइतेको उपचारदेखि सहिद घोषणासम्मका कामलाई प्राथमिकतामा राखेँ । संविधान संशोधनद्धारा मधेशी जनताको हक अधिकार सुनिश्चित गर्ने कुरामा मैले धेरै मिहिनेत गरेँ । अहिले यो क्षेत्रमा म आउँदा के महसुस गरेँ भने प्रधानमन्त्रीको रुपमा जे मिहिनेत गरेँ, त्यसको फल अहिले लाग्दैछ । मधेशी जनतामा एउटा लहर आएको छ । मधेशी जनताको पहिचान, अधिकार र यहाँको विकास गर्न सक्ने पार्टी माओवादी नै हो । मधेशमा जागरण ल्याउने पार्टी माओवादी नै हो । माओवादीको नेतृत्वमा मधेशीका १३ सय छोराछोरीको ज्यान गएको छ । त्यसैले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र आउनुमा मधेशी जनताको ठूलो भूमिका छ । हिजो राजको पछि लाग्नेहरुले गणतन्त्र ल्याएको त हुँदै होइन । यो चेतना मधेशमा अहिले आएको छ । जनताले अब माओवादी पार्टीबाट मात्रै विकास सम्भव छ भन्ने कुरा बुझेका छन् । म धेरै खुशी छु । सर्लाहीमा साँढे छ हजार एकैपटक माओवादीमा प्रवेश गरेका छन् । रौतहटमा ४ हजार हाम्रो पार्टीमा प्रवेश गरे । म जहाँ पुगेको छु, सबै ठाउँमा पार्टी प्रवेशको लहर चलेको छ ।


नेपाली कांग्रेससँग गर्ने भनिएको चुनावी तालमेल भनिए अनुसार हुन सकेन । तपाई कहाँ चुक्नुभयो ?
मैले धेरै पहिलेदेखि प्रधानमन्त्री शेरबहादुर देउवा र विमलेन्द्र निधिलगायतका मधेशका नेतालाई लगातार भनेको हुँ । राम्रोसँग तालमेल ग¥यो भने मधेशमा धेरै राम्रो परिवर्तन आउन सक्छ भनेको थिएँ । तर अन्तिममा किन तालमेल हुन सकेन भन्दा कांग्रेसको कारणले । कांग्रेसभित्रको झगडा, यति कचिङ्गल रैछ कि कांग्रेसभित्र, त्यसकै कारण सोचेअनुसार तालमेल हुन सकेन । हामी चाहन्थ्यो कि राजमार्ग क्षेत्रमा तालमेल गर्नुपर्छ, त्यसले राम्रो नतिजा दिन्छ । तर केही ठाउँमा बाहेक तालमेल हुन सकेन ।

चुनावी तालमेल हुन नसक्दा केन्द्रिय गठबन्धनलाई प्रभाव पार्छ कि पार्दैन ?
त्यस्तो केही प्रभाव पार्दैन । हामी चाहन्छौँ कि शान्ती प्रक्रियाका बाँकी काम पनि टुङ्यिोस् । सबै निर्वाचन समयमा नै होस् । देश आथिृक समृद्धितर्फ जाओस भन्ने हाम्रो चाहना हो । त्यसकारण अहिलेको चुनावमा तालमेल नहुँदैमा कांग्रेससँगको गठबन्धनमा कुनै असर पर्दैन ।

कांग्रेससँगको गठबन्धन कहिलेसम्म कायम रहन्छ ?
शान्तीप्रक्रिया टुङ्ग्याउन र देशलाई विकासको बाटोमा लैजानका लागि यो सहकार्य धेरै परसम्म लैजानु आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot