Logo

नेपाललाई दीर्घकालिन रुपमा द्वन्द्वमा फसाउने प्रयास असफल : ओली



काठमाण्डौ २७ भदौ, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दीर्घकालिन रुपमा साम्प्रदायिक द्वन्द्वमा फसाउने प्रयासलाई नेपाली जनताले असफल पारिदिएको बताउनुभएको छ ।

सामाजिक सद्भावको महत्वलाई बुझेका नेपाली जनताले निर्वाचनको माध्यमबाट यस्तो अभियानका अभियन्ताहरुलाई परास्त गरेको ओलीले बताउनुभयो ।

तराईका बाढी पीडितलाई सहयोग गर्नका लागि एमाले ललितपुर क्षेत्र नम्बर ३ ले संकलन गरेको ३ लाख २५ हजार ७सय ८० रुपैंया राहात रकम आज आफ्नै निवास बालकोटमा बुझ्दै ओलीले एउटा भूगोल र समुदायमा विपद् पर्दा अर्को भूगोलले सद्भाव देखाउने नेपालीहरुको परम्परागत संस्कार भएको बताउनुभयो ।

‘नेपालीको यो आत्मीयताको संस्कारलाई विथोल्न थुप्रै व्यक्ति र संस्थाहरु लागि परे’ ओलीले भन्नुभयो ‘भुगोल,जाती,धर्म आदिका नाममा नेपालीमा फाटो ल्याउन भएका सबै प्रयासले नेपाली जनताले निष्क्रिय पारेका छन् ।’

पछिल्ला दुई दशक नेपालमा द्वन्द्व उद्योग गर्नेहरु धेरै फस्टाएको ओलीले बताउनुभयो । नेपालको जातीय विविधिता,भाषिक र साँस्कृतिक विविधतामा द्वन्द्वको बीउ रोपेर यसबाट छाक टार्नेहरुको बिगबिगी भएको ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपाली समाजले द्वन्द्वलाई तिरस्कार गरेपछि त्यसको व्यवस्थापनका नाममा उद्योग गर्नेहरु पनि अहिले फस्टाएका छन् । यस्ता व्यक्ति वा संस्थाहरुबाट सजग हुनुपर्दछ । ’

केही तत्वहरु अझै पनि २ नम्बर प्रदेशमा द्वन्द्वको खेती गर्न सक्रीय भइरहेको ओलीको धारणा छ । ‘यी सबै तत्वहरुलाई जनताले निर्वाचन मार्फत परास्त गरेर सहिष्णु समाज निर्माणको आधार तय गर्नेछन् । ’

राहात रकम संकलन समितिका संयोजक रघुनाथ महर्जनका अनुसार उक्त रकम पार्टीका नेता,कार्यकर्ता,शुभचिन्तक र सहयोगीहरुबाट संकलन गरिएको हो ।
राहात रकम नेकपा(एमाले) केन्द्रीय कार्यलयले सञ्चालन गरेको नेकपा एमाले प्राकृतिक विपत्ति कोषको खातामा जम्मा गरेर तराईका बाढी पीडितलाई अविलम्ब पु¥याइने व्यवस्था गरिने ओलीले बताउनुभयो ।

 

 



प्रतिक्रिया दिनुहोस्