Logo

अन्ततः नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का पर्ने भए कारबाहीमा



भदौ २७, काठमाण्डौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि कारवाहीका लागि मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी भएको बताइएको छ ।
आपूर्ति मन्त्री शिवकुमार मण्डलले पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता भएको ठहर गर्दै कारबाहीको अन्तिम तयारी गरेका हुन् । आपूर्ति मन्त्री मण्डलले मन्त्रालयको छानविनले जग्गा खरिद गर्दा अनियमितता भएको देखाएको बताए । उनले छानविनका क्रममा देखिएका तथ्यहरूसहितको प्रतिवेदन तयार गरी सोमवार प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको जानकारी दिएका छन् ।
जग्गा खरिदका क्रममा देखिएका विषयमा सोधिएका प्रश्नको उत्तरसहितको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको छ ।  प्रतिवेदनमा देखिएका तथ्यको आधारमा दोषीमाथि कारवाही गरिने मन्त्री मण्डलले बताएका छन् ।

मन्त्रालयले गरेको छानविनका आधारमा कारवाहीका लागि त्यसको प्रस्ताव आगामी मन्त्रीपरिषद्को बैठकमा लाने तयारी भएको मन्त्री मण्डलले बताए ।  आगामी मन्त्रिपरिषद बैठकले आयल निगमका सम्बन्धमा ठोस निर्णय लिने अनुमान गरिएको छ ।

निगमको जग्गा खरिद अनियमिततामा असहयोग गरेकोले अघिल्ला आपूर्ति सचिव प्रेमकुमार राईको सरुवा गरिएको थियो ।  राईलाई सरुवा गरेपछि मन्त्रालयमा कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा ल्याइएको थियो ।
आपूर्ति सचिव कृष्णप्रसाद देवकोटाले आयल निगमको जग्गा खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न सहयोग गरेकाले गोपाल खड्का कारबाहीमा पर्न लागेको बताइएको छ । संसदीय समितिहरूले दिएको प्रतिवेदनलाई पनि मन्त्रालयले गम्भीर रुपले हेरिरहेको उनले बताए ।

सोमबार संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निगमको जग्गा खरिदमा घोटाला भएको भन्दै त्यसमा संलग्न मन्त्रालयको तत्कालिन मन्त्री, सञ्चालक समिति र निगम अधिकारीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक गोपाल खड्का भने कारबाही रोक्नका लागि राजनीतिक दौडधुपमा लागेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्