Logo

आचारसंहिता पालना सम्बन्धमा सरकारलाई थप निर्देशन



काठमाडौँ, २७ भदौ । निर्वाचन आयोगले आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अरू निकायलाई थप निर्देशन÷पत्राचार गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहको सयोजकत्वमा गठित निर्वाचन आचारसंहिता समितिको आजको बैठकले निर्वाचन आचारसंहिता विपरीत हुने सामग्रीको वितरणमा रोक लगाउन सम्बद्ध निकाय तथा तोकिएको अधिकारीलाई निर्देशन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

राजनीतिक दलका तर्फबाट हुने उम्मेदवार वा स्वतन्त्र उम्मेदवारको प्रचार–प्रसारका क्रममा टिसर्ट, झोला, स्टिकर, गम्छा, सल, खादाजस्ता जिन्सी सामग्रीमा आफ्ना निर्वाचन चिह्न अङ्कित गरी मतदातालाई वितरण गर्दा निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र मितव्ययी हुन नसक्ने आयोगको ठहर रहेको छ ।

स्थानीय तह निर्वाचन सम्पन्न भएपछि गठन भएका स्थानीय तहका गाउँसभा÷नगरसभा÷ जिल्लासभालाई नीति, बजेट तथा कार्यक्रम गर्न दिने जनाउँदै आयोगले तर यस्तो कार्यक्रम गर्दा विशिष्ट अतिथिका रुपमा नेपाल सरकारका मन्त्री, व्यवस्थापिका–संसद्का सदस्यले उद्घाटन नगर्ने÷नगराउने गरी कार्यक्रममा सहभागी हुन मात्र सहमति दिने कुरा पनि आयोगले स्पष्ट गरेको छ ।

आयोगले निर्वाचन आचारसंहिता लागू हुनुपूर्व सरुवा भएका कर्मचारीलाई यथाशीघ्र आफ्नो दरबन्दीमा जान रमाना दिने तथा काज रहेको भए दरबन्दीमा काज फिर्ता गर्न सरकारलाई निर्देशन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

करिब तीन हजार थान तुल–ब्यानर नष्ट

यसैगरी निर्वाचन आयोगले प्रदेश २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको अनुगमनका क्रममा बारामा करिब तीन हजार थान तुल, ब्यानर, फ्लेक्स प्रिन्ट तथा पर्चा जफत गरी नष्ट गरेको जनाएको छ ।

निर्वाचनका लागि आयोगबाट खटिनुभएका सहसचिव गजेन्द्र ठाकुरको नेतृत्वको टोलीले सार्वजनिक स्थानबाट करिब तीन हजार थान तुल, ब्यानर, फ्लेक्स, प्रिन्ट र पर्चा जफत गरी नष्ट गरिएको आयोका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
स्थानीयवासीको गुनासोपछि अनुगमनकर्ताबाट त्यस क्षेत्रको अनुगमन गर्नुभएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिनुभएको आयोगले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्