Logo

एमाले संघीयता र गणतन्त्र विरोधी पार्टी हो : प्रधानमनत्री देउवा



धनुषा, २८ भदौ । नेपाली कांग्रेसका नेताहरु एमालेमाथि खनिएका छन् । उनीहरुले नेकपा एमाले संघीयता र गणतन्त्र विरोधी पार्टी भएको आरोप लगाउदै एमालेलाई जसरीपनि २ नम्बर प्रदेशमा पराजित गर्न र संघीयता बचाउन त्यस क्षेत्रका मतदातालाई आग्रह गरेका छन् ।

बुधबार जनकपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवादेखि नेतृ लिला कोइरालासमेतले एमाले पार्टी गणतन्त्र र संघीयता विरोधी पार्टी भएको भन्दै एमालेलाई चुनावमा पराजय नगरे संघीयता नै गुम्नसक्ने खतरा रहेको बताएका हुन् ।

क्याम्पस चोकमा भएको चुनावी सभामा सभापति एव प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले एमाले संघीयता विरोधी भएकै कारण संविधान संशोधनको विपक्षमा उभिएको दावी गरे ।

उनले भने,‘ यदि एमाले संघीयताको पक्षधर थियो भने उसले संविधान संशोधनको विरोध नै गर्ने थिएन, मधेसका जनतालाई अधिकार दिन विरोध गर्नु भनेको संघीयता र गणतन्त्र नचाहानु हो ।’ देउवाले एमाले राष्ट्रविरोधी दलका रुपमा चित्रित भएको पनि बताए ।

नेता विमलेन्द्र निधीले एमालेका केही नेता चीनमा गएर संघीयता चाँहिदैन हटाइ दिनुपर्यो भनेर गुहार मागेको प्रमाण आफुसँग भएको दावी गरे ।

उनले भने ‘एमालेका नेता चीन पुगेर संघीयता हटाइदिन गुहार मागेको भेटिएको छ । त्यसैले एमाले संघीयता विरोधी हो भन्ने प्रश्ट भएको छ । त्यसकारण एमालेलाई आउन दिनुहुन्न’ एमालेमाथि निकै आक्रोश पोखेका निधीले संघीयता चाहने भए एमाले संविधान संशोधनको पक्षमा उभिने दावी समेत गरे ।

निधीले एमालेले पुर्व राजासँग मिलेर गणतन्त्र समाप्त पार्न खोजेको पनि आरोप लगाए । भने ‘एमालेले राजासँग मिलेर गणतन्त्र समाप्त पार्न खोज्दैछ । तपाइहरु होसियार रहनुस् ।’

 



प्रतिक्रिया दिनुहोस्