Logo

कलैया उपमहानगरपालिकामा मेयरका उम्मेद्धवारहरुवीच घम्साघम्सी : काम गर्न नसके एम महिनाभित्रै राजिनामा दिने घोषणा



बारा (कलैया), २९ भदौ । बाराको कलैया उपमहानगरपालिकाका मेयरका उम्मेद्धवारहरुवीच निकै ठूलो घम्साघम्सी परेको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपाल कलैया शाखाले आयोजना गरेको विशेष चुनावी अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममा मेयरका उम्मेद्धवाहरुवीच आरोप–प्रत्यारोप चलेको हो ।

क्लबका शाखा अध्यक्ष सिकेन्द्र पासवानको अध्यक्षतामा सम्पन्न उक्त साक्षात्कारमा बोल्दै नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्धवार मुकेश साहले उत्तः उपमहानगरलाई समृद्ध बनाउने उद्धघोष गरे । उनले त्यतिमात्रै नभएर कलैयालाई पूरै कायापलट गर्ने समेतको वचनबद्धता जनाए ।

त्यस्तै उनले कलैयाका सडक, स्वास्थ्य, शिक्षा, बाटोघाटो र नगरलाई समृद्ध बनाई छाड्ने प्रतिबद्धता व्यक्त गरे । साहले कलैयलाई ग्रिन सिटीको रुपमा आफूले विकास गर्ने समेत विश्वास दिलाए ।

संघीय समाजवादी फोरमका मेयरका उम्मेद्धवार प्रमोद गुप्ताले ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले मुलुकमा गतिरोध कायम राखेको आरोप लगाए ।उनले भने,‘ठूला पार्टीहरुले मुलुकमा सँधै अस्थिरता बनाएका छन्, मुलुकलाई अल्झाएर राखेका छन्, त्यसैले यीनीहरुबाट विकासको अपेक्षा गर्नु भनेको मुर्खता बाहेक अरु केही होईन।’

गुप्ताले प्रमुख प्रतिपक्षी दल एमालेले जहिल्यैपनि मधेश विरोधी भएको अरोप लगाए । उनले भने,‘एमालेले जहिले पनि मधेशलाई हेप्ने काम गर्यो, कहिले धोती भन्यो त कहिले कालो भन्ने, विखण्डनको अवस्थामा ल्यायो, यसैले मधेशमा एमालेको कुनै हक छैन, उसले भोट माँग्न पनि लाज मान्नुपर्ने हो।’

त्यस्तै नेपाल लोकतान्त्रिक फोरम मोहम्मत सामी मियाँ ठकुराईले नगरको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफू सबैभन्दा पूरानो मेयरका उम्मेद्धवार भएको उल्लेख गर्दै भने,‘यो उपमहानगरका हरेक गाउँलार्ई सहरसँग जोडेर अघि बढाउँछु । जनतालाई अनुभुत हुने खालका विकास र समृद्धि दिलाएर छाड्छु।’

कार्यक्रममा कांग्रेसका उम्मेद्धवार राजेश यादव र एमालेको विनोद साह भने आएनन् । दुवै उम्मेद्धवारहरु नआएपछि त्यहाँका स्थानीय जनता आक्रोशित बनेका थिए । हुन पनि कांग्रेस र एमालेका मेयरका उम्मेद्धवारहरुले पटक–पटक उक्त कार्यक्रममा आउने भनेर सार्वजनिक प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा क्लबका केन्द्रिय सभापति ऋषि धमलाले आफू निर्वाचनलाई सफल बनाउनको लागि मधेश अभियान लिएर तराई आएको बताएका हुन् । उनले भने,‘२० औं वर्षपछि निर्वाचन हुँदैछ, जनताहरु आफ्नो मत दिएर आफूलाई मन परेका जनप्रतिनिधिहरु जिताउनको लागि आँतुर छन्, त्यसैले यो निर्वाचनमा सबैको उल्लेख्य सहभागिता होस, निर्वाचन निश्पक्ष होस, धाँधलीरहित होस्।’

यद्धपी उनले निर्वाचन आचारसंहितालाई सबै दलका उम्मेद्धवारहरुले अक्षरंश पालना गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्