Logo

एमाले र मधेशी दल दुवै अतिवादी शक्ति हुन्, त्यसैले कांग्रेसले चुनाव जित्छ : मन्त्री मन्सुर



बारा, २९ भदौ । श्रम तथा रोजगारमन्त्री फर्मुल्ला मन्सुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेशी दल दुवै अतिवादी शक्ति भएकोले २ नम्बर प्रदेशमा आफ्नो पार्टी नेपाली कांग्रेसले जित्ने दाबी गरेका छन् ।

मन्त्री मन्सुरले एमालेलाई अतिवादी पार्टीको संज्ञा दिए । उनले भने,‘एमालेले जुन रवैया मधेशप्रति देखाएको थियो, त्यसको हिसाबकिताब जनताले यो पटकको निर्वाचनमा दिनेछन्।’
बिहीबार रिपोर्टर्स क्लब नेपाल कलैया शाखाले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री मन्सुरले यस्तो बताएका हुन् । उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टीले पहिलो स्थान हाँसिल गर्ने दाबी समेत गरे । उनले भने,‘कांग्रेस सबै ठाउँमा अग्रस्थानमा छ, १३६ स्थानमध्ये, सय भन्दा बढि ठाउँमा जित्दैछ, हुन त यी मध्ये विभिन्न ठाउँमा अन्य दलहरु प्रतिष्पर्धामा छन्, तर एक सय ३६ स्थानमा कुनैपनि प्रतिष्पर्धामा छैन, त्यसैले हामी जित्छौं ।’

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको उपस्थितिमा सम्पन्न उक्त साक्षात्कारमा बोल्दै उनले संविधान निर्माणको बेला प्रमुख दलहरुले संविधानलाई परिमार्जित गदै जान्छौं भनेर सार्वजनिक प्रतिबद्धता जनाएपनि पछि जिम्मेवार दलहरु नै उक्त प्रतिबद्धताबाट ब्याक भएको आरोप लगाए । उनले भने,‘मुलुकमा अहिले दुई वटा अतिवादी शक्तिहरु छन्, जस्तो संविधानको कुरा लिएर भन्ने हो भने एउटा समूह संविधान जलाए पनि च्यातेपनि, उपेन्द्रजीले पनि नयाँ संविधान लेख्नुपर्छ भनेकै हो, तर पछि उहाँ चुनावमा आउनुभयो, अर्को शक्ति जो छ, उसले संविधान संशोधनको नाम नै सुन्न चाहेन, यसको नेतृत्व केपी ओलीजीले गर्नुभएको थियो।’

उनले संविधान सभाबाट कांग्रेसको नेतृत्वमा संविधान बनेको उल्लेख गर्दै भने,‘संविधान जारी हुने वित्तिकै एउटा अतिवादी शक्ति मधेशी मोर्चाले ६ महिनासम्म आन्दोलन, बन्द, हडताल गरे, त्यतिवेला हजारौं व्यापारीहरु ब्याजको मारमा परे, तर ती आन्दोलन गर्ने मधेशी सांसदहरुले भने ६ महिनाकै तलब भक्ता लिए ।’ त्यतिमात्रै नभएर उनले उपेन्द्र यादवप्रति टिप्पणी गर्दै भने,‘यो संविधान संशोधनमात्रै नभएर नयाँ लैख्नुपर्छ भन्नेहरु पछि आएर संविधान संशोधनले पनि हामी अघि बढ्छौं भनेर लुुरुक्क परेको देखियो ।’

मन्त्री मन्सुरले अहिले आएर फोरमका अध्यक्ष उपेन्द्र यादवले प्राप्त अधिकार र उपलब्धिहरुको रक्षा गर्दै अघि बढ्न आफूहरु निर्वाचनमा आएको भनेर सार्वजनिक अभिव्यक्त दिँदै हिडेको आरोप लगाए । उनले भने,‘तर उहाँहरु पछि हाम्रो एजेण्डामा आउनुभएको हो, यो कुरा सारा जगतलाई थाहा छ, त्यसैले कांग्रेसको नेतृत्वले मात्रै मुलुकलाई सही दिशामा अघि लिएर जान सक्छ भन्ने कुरा अहिले आएर सिद्ध भएको छ।’ यसको अर्थ यो हो कि मुलुकमा जहिल्यैपनि हरेक समस्याको समाधान कांग्रेसले मात्रै दिन सकेको छ र अहिले पनि हामी निर्वाचनमार्फत संविधान कार्यान्वयन गर्दै समृद्धिको दिशामा अघि बढ्दै छौं–उनले प्रस्ट्याए ।

त्यस्तै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि गाली र आरोप लगाउन बाँकी राखेनन् । उनले एमालेलाई अलोकतान्त्रिक चरित्र बोकेको पार्टी भएको आरोप लगाए । उनले थपे,‘लोकतान्त्रिक विधिमा ल्याएको संशोधन प्रस्तावमा मतदान हुनै नदिने, छलफल गर्न नदिने एमाले पार्टी, मधेश जनताको राष्ट्रियतामाथि प्रश्न गर्ने, झलनाथ खनालले धोती मधेश भने, अर्का नेता ईश्वर पोखरेलले कालो भन्ने काम गर्नुभयो, मधेशी जनताको राष्ट्रियतामाथि एमालेले प्रश्न गर्ने काम गर्यो, यो गलत भयो।’

त्यस्तै उनले मधेशी जनता सिमाका रक्षक भएको उल्लेख गर्दै थपे,‘तर एमालेले प्रश्न उठायो, जातिय अतिवादीको कुरा उठाएको छ, यो अतिवाद कुरा हो, मधेशीलाई गाली गर्ने एमाले र पहाडेहरुलाई गाली गर्ने मधेशी दलहरुका कारण मुलुकले निकास पाउँदैन ।’

२ नम्बर प्रदेशका जनताहरुले दुई वटै अतिवादी शक्तिहरुको त्याग गर्दै कांग्रेसलाई जिताउन तयार रहेको उनको भनाई थियो । उनले थपे,‘सबै दलहरु निर्वाचनमा सहभागी हुने वातवारण बनेको छ, मेला र पर्व अनि उत्सवको रुपमा अहिले यहाँका जनताहरुले लिएका छन् ।’

मन्त्री मन्सुरले कांग्रेसले जनताको सर्वाैच्चता कायम गरेको, संविधान कार्यान्वयन हुँदैछ, जनताको चाहना मुलुक समृद्ध बनाउने भएकोले त्यो यो निर्वाचनपछि संभव हुने बताए ।
उनले दुुई वटा उपमहानगरपालिका, ५ वटा नगरपालिका, ९ वटा गाउँपालिकामा कांग्रेस प्रथम स्थानमा आउने उनको भनाई थियो । उनले भने,‘लड्न त सबै चुनाव लडिरहेका छन्। तर कांग्रेस सबै ठाउँमा चुनाव जित्न गैरहेको छ । यो कुरा सबैले बुझे हुन्छ।’

सरकारकै मन्त्रीहरुले आचार संहिता उल्लंघन गरिरहेका छन् भनेर निर्वाचन आयोगले कारबाही गर्ने चेतावनी दिएको छ नि भनेर सोधिएको एक प्रश्नमा उनले भने,‘मैले कहीँ पनि सरकारी गाडी उपयोग गरेको छैन, आमसभालाई सम्बोधन गरेको छैन, अब प्रधानमन्त्रीज्यूकै कुरा गर्नुृभएको हो भने उहाँ कांग्रेसका सभापति पनि हो, त्यसैले उहाँ पार्टीको चुनाव प्रचारमा हिँड्नुभएको छ, पार्टी प्रणालीमा पार्टीका नेताहरु जनताका वीचमा जाने व्यवस्था छ, यो कुरा उहाँहरुले बुझ्नुपर्छ।’

उनले निर्वाचन आयोगले बहुदलीय व्यवस्था नबुझेर यस्तो भनेकोत होईन भन्दै प्रश्न समेत तेर्साए । मन्सुरले थप,‘पार्टीका नेताहरु मन्त्रीहरु हुन्, डेमोक्रेसीको मर्मलाई नबुझेर यस्तो कुरा भैरहेको छ, बाराको कुरा गर्नुहुन्छ भने यहाँ कुनै रात्रि सभा गरेको छैन, आयोगले शान्ति सुरक्षालाई ध्यान दिएर यस्तो सचेत गराएको हो।’



प्रतिक्रिया दिनुहोस्