Logo

मधेशको विकासका लागि प्रतिबद्ध छु : प्रधानमन्त्री देउवा



रौतहट, २९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

गरुडामा नेपाली कांग्रेसद्वारा आयोजित चुनावीसभामा नेपाली काँग्रेसका सभापति देउवाले मधेशको विकासका लागि तराईबाट काठमाडाँै जोड्ने द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको र तिनको काम तीव्रगतिमा भइरहेको बताउनुभयो । समग्र मधेशको विकासका लागि कांग्रेसको विकल्प नभएको बताउँदै प्रधानन्त्री देउवाले भन्नुभयो, “मधेश कांग्रेसको भूमि हुँदा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउनुस् ।”

प्रधानमन्त्री देउवाले अब मधेशमा डुबान नहुने गरी समस्याको समाधानका लागि भारतसँग कुरा भएको र चाँडै दुवै देशको सीमा क्षेत्रको अध्ययन गरी दशगजामा लगाइएको बाँधबाट पानीको निकास गराइने बताउनुभयो ।

सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस सिद्धान्तमा चल्ने पार्टी भएको बताउँदै काँग्रेसलाई जिताएर गाउँगाउँमा विकासको मूल फुटाउनुपर्छ भन्नुभयो । महामन्त्री डा शशांक कोइरालाले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले अत्यधिक तहमा चुनाव जित्ने जिकिर गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्