Logo

कानून व्यवसायी समाजको अभियन्ता बन्नुपर्ने : प्रधानन्यायाधीश पराजुली



काठमाडौँ, ३० भदौ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले कानून व्यवसायी समाजको अभियन्ता बन्नुपर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतद्वारा आज वरिष्ठ कानून व्यवसायीलाई प्रमाणपत्र वितरण समारोहमा उहाँले देशको काँचुली फेर्न कानून व्यवसायीको योगदान महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।
प्रधानन्यायाशीध पराजुलीले कानूनी व्यवसाय स्वार्थमा लाग्न नहुने भन्दै अप्ठ्यारो पर्दा पनि कत्ति पनि विचलन नहुन आग्रह गर्नुभयो ।

कार्यक्रममा महान्यायाधिवक्ता वसन्तराम भण्डारीले कानून व्यवसायीले मुद्दा लड्ने मात्र नभई सेवाग्राहीलाई खुशी हुने काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले अदालतको सहयोगीका रुपमा कानून व्यवसायीको भूमिका रहनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा मुख्य रजिस्ट्रार नहकुल सुवेदीले अहिलेसम्म १९ महिलासहित ४४८ जना कानून व्यवसायीलाई वरिष्ठ कानून व्यवसायीको प्रमाणपत्र वितरण गरिएको जानकारी गराउनुभयो ।

विसं २०१३ बाट वितरण गरिएको वरिष्ठ कानून व्यवसायीको प्रमाणपत्र विसं २०३३ देखि २०४७ सम्म भने वितरण गरिएको थिएन । कार्यक्रममा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले न्यायालयले राम्रो काम गरेको उल्लेख गर्दै कानून व्यवसायीबाट पनि न्यायालयमा न्यायाधीश बनाउनुपर्ने सुझाव दिनुभयो ।

उक्त कार्यक्रममा प्रधानन्यायधीश पराजुलीले २७२ जनालाई वरिष्ठ कानून व्यवसायीको प्रमाणपत्र वितरण गर्नुभएको थियो । वरिष्ठ कानून व्यवसायीको प्रमाणपत्र पाउनेमा रमण श्रेष्ठ, बाबुराम कुवँर, सूर्यबहादुर भण्डारी, वैकुण्ठ न्यौपाने, विश्व घिमिरे, गीता अर्याल, गोपालकृष्ण घिमिरे, नैनविनोद न्यौपाने, कमलामोहन वाग्लेलगायत रहनुभएको छ ।

गत साउन २५ गते सर्वोच्चले नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० को दफा २१ बमोजिम २७२ जनालाई वरिष्ठ कानून व्यवसायीको प्रमाणपत्र दिने निर्णय गरेको थियो ।

प्रधानन्यायधीशद्वारा सय दिनको कार्यको विवरण सार्वजनिक

यसैगरी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सय दिनमा गरेको कार्य सार्वजनिक गर्नुभएको छ ।

प्रधानन्यायाधीश पराजुलीले आफूले गरेका ३० बुँदे कार्यको विवरणको आज सर्वोच्चमा आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । उहाँले सार्वजनिक गरेको कार्यमा सर्वोच्च अदालत नियमावली २०७४, न्यायपरिषद् तथा न्यायसेवा आयोग नियमावली पारित, मुख्य रजिष्ट्रारको दरबन्दी सिर्जना गरी नियुक्त गरिएको, सर्वोच्चमा समूहगत सुनवाई पद्धति जस्ता रहेका छन् ।

यस्तै उहाँले सर्वोच्चमा आफूले पुराना मुद्दा फछ्र्यौट गर्नमा प्राथमिकता दिएको उल्लेख गर्दै संवैधानिक इजलास गठन, पारिवारिक अदालतको स्थापनाका लागि अध्ययन समूह गठन भएको पनि सय दिनको उपलब्धिका रुपमा उल्लेख गरिएको छ ।

सय दिनको कार्यमा उहाँले आफ्नो सचिवालयबाट मातहतका अदालतका काम कारबाहीको निरन्तर निगरानी गरिरहेको उल्लेख गर्दै अदालतमा हुनसक्ने अनियमितता रोक्न र कारबाहीको दायरामा ल्याउने सूक्ष्म निगरानी समेत गरेको बताउनुभएको छ ।
पराजुली जेठ २४ गते कार्यवाहक प्रधानन्यायाधीश र साउन २ गते प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो । रासस



प्रतिक्रिया दिनुहोस्