Logo

प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तरवार्ता प्रसारणमा निर्वाचन आयोगको रोक



भदौ ३१, काठमाण्डौ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तरवार्ता प्रसारण नगर्न ऋषि धमलालाई आग्रह गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तरवार्ता प्रसारणका लागि धमलाले अनुमति मागे पनि आचारंहिता उल्लङ्घन हुने भन्दै ढकालले प्रसारण नगर्न आग्रह गरेका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल

मौन अवधिसमेत सुरु भइसकेकाले कानुनी व्यवस्था अनुसार त्यस्ता अन्तरवार्ता प्रसारण गर्न नमिल्ने ढकालले बताए ।
प्रवक्ता ढकालले आचारसंहिता कार्यान्वयनका लागि आयोगले सक्दो प्रयास गरिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता ढकालले राजनीतिक दल, नगरिक समाज, सरकारलगायत सबै सम्बन्धित पक्षलाई आचारसंहिता कार्यान्वयनका लागि अनुरोध गरिरहेको बताए ।
निर्वाचन आयोग जस्तो संवैधानिक निकायको अनुरोधलाई सरकारका जिम्मेवार व्यक्तिहरुले स्विकार गर्नुहुनेछ भन्ने विश्वास लिइएको ढकालको भनाई छ । निर्वाचन आयोगले मात्रै आचारसंहिता पालना गराउन नसक्ने भन्दै ढकालले सबै पक्षले आयोगलाई सहयोग गर्नुपर्ने बताए ।
आयोगले अनुरोध गर्ने तर कसैले पनि त्यसको पालना नगर्ने हो भने आचारसंहिताको कुनै अर्थ नरहने प्रवक्ता ढकालको भनाई छ । “आचारसंहिता पालना गर्नु सबै सारेकारवाला पक्षको कर्तव्य हो ।” ढकालले भने ।
बालबालिकाको प्रयोग गर्ने उम्मेदवार तथा दललाई किन मत दिने भन्दै ढकालले मतदातामाझ प्रश्न तेस्र्याएका छन् । यसका लागि अभियान नै संचालन गर्नुपर्नेमा ढकालले जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्