Logo

मतदानको व्यग्र प्रतिक्षामा २ नम्बर प्रदेशका जनताहरु



काठमाडौं, १ असोज । भोलि २ नम्बर प्रदेशमा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । २० वर्षपछि हुन गैरहेका भोलिको निर्वाचनमा जनताहरुको उल्लेख्य सहभागिता हुने देखिएको छ ।
सरकारले मतदानको लागि सम्पूर्ण सुरक्षा व्यवस्था गरिसकेको बताएको छ ।

हिजोमात्रै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सरकारले सुरक्षाको पूर्ण व्यवस्था गरेको जानकारी दिँदै आम मतदाताहरुलाई ढुक्क भएर मतदान गर्न गृहमन्त्री जनार्दन शर्माले अपिल गरेका थिए ।

यता निर्वाचन आयोगले पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउँदै ढुक्क भएर मतदाताहरुलाई मत खसाल्न अपिल गरिसकेको छ । शर्माले त्यतिमात्रै भनेन सरकारले आवश्यक मात्रामा सुरक्षाकर्मीर्ला फिल्डमा खटाईसकेको समेत जानकारी दिए । यसरी हेर्दा, अब भोलिको निर्वाचनको लागि केही र कुनै कसर बाँकी छैन।

निर्वाचन आयोगले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा पूर्णरुपले सुरक्षा प्रत्याभूति गरिएकोले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गरेको छ ।
प्रदेश नम्बर–२ को निर्वाचनको पूर्वसन्ध्यामा आइतबार आयोगले पत्रकार सम्मेलन गरी प्रदेश नम्बर–२ को निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएकोले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई अपिल गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनलाई पर्वकोरुपमा मनाउन अपिल गरे । उनले कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले मत प्रदान गर्न सबै मतदातालाई आह्वान गरे ।

प्रदेश नम्बर–२ मा सोमबार हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भइसकेको पनि आयोगले जनाएको छ । सुरक्षाको पनि भरपर्दो प्रबन्ध मिलाइएको र सीमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित घुसपैठलाई रोक्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको पनि आयोगको भनाइ छ ।

प्रदेश–२ का ८ जिल्लाका १३६ स्थानीय तहमा ६ गुणाभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको आयोगको तथ्यांक छ ।

 



प्रतिक्रिया दिनुहोस्