Logo

अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी



काठमाडौं, २ असोज । सरकारले नेपाल प्रहरीको आईजीपीमा एआईजी जयबहादुर चन्दलाई नियुक्त गर्ने तयारी थालेको छ । हालका आईजीपी प्रकाश अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्ती गर्नेगरि निर्णय गर्न लागेको स्रोतको दाबी छ ।

मन्त्रिपरिषद् बैठकले यस विषयमा छिट्टै टुङ्गो लगाउने एक मन्त्रीले पत्रकार ऋषि धमलालाई जानकारी दिए । एआईजी चन्दलाई महानिरीक्षकमा नियुक्ती गर्ने आन्तरिक तयारी अहिलेको सरकारले थालिसकेको बुझिएको छ । स्रोतका अनुसार सत्तारुढ दलवीच यसअघि नै पहिले अर्याललाई र त्यसपछि चन्दलाई नै आईजीपी बनाउने भद्र सहमति भैसकेको थियो ।

अदालतको पनि सम्मान र सरकारको कार्यकारी अधिकारलाई पनि रक्षा गर्दै महानिरीक्षकमा दुवैको बढुवा गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरवहादुर देउवाबीच छलफल भएको थियो ।

हालका आईजीपी अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई प्रहरी नेतृत्वको जिम्मा दिने विषयमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको स्रोतको दाबी छ ।

आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन अघि नै नेपाल प्रहरीको कमाण्ड चन्दले सम्हाल्नेगरि प्रक्रिया अघि बढाउने सरकारको आन्तरिक तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्