Logo

प्रदेश नम्बर २ मा ७३ प्रतिशत मतदान खसेको निर्वाचन आयोगको दाबी



मतगणना सुरु भएको पाँच दिनभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने

काठमाडौं, २ असोज । निर्वाचन आयोगले प्रदेश नम्बर २ मा ७३ प्रतिशतभन्दा बढी मतदान भएको जनाएको छ। आयोगले निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको पनि उल्लेख गरेको छ।

प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान भएको थियो। आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट आयोगलाई प्राप्त भएको जानकारी दिए।

आयोगकी आयुक्त इला शर्माले पनि ७० प्रतिशतभन्दा बढी मतदान भएको उल्लेख गर्दै आयोग सफल भएको ट्विट गरेकी छन्। उनले राजनीतिक दल र सुरक्षाकर्मीलाई धन्यवादसमेत दिएकी छन्।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बाढी, डुबान कटान सहेर भए पनि मतदानमा व्यापक सहभागिताले जनताको अधिकार बलियो बनाएको बताए। उनले राजविराजको १५ नम्बर वडाका दुई मतदान केन्द्रबाहेक अन्यन्त्र मतदान सम्पन्न भएको उल्लेख गरे।

अब प्रदेश र संघको निर्वाचनमा जुट्न पनि आयोगले आह्वान गरेको छ। आयोगले अरुकै नाममा मतदान गर्न खोज्ने ३८ जनालाई नियन्त्रणमा लिइएको र निर्वाचन कानुन उल्लघंन गर्ने १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

आयोगले प्रदेश २ मा मतगणना सुरु भएको पाँच दिनभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने जनाएको छ । मतगणना आजैबाट सुरु गर्ने आयोगको तयारी छ । मतदान सकिएलगत्तै आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले पाँच दिनभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने गरी मतगणनाको प्रवन्ध मिलाइएको जानकारी दिएका हुन् ।

अहिले मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा लैजाने काम भइरहेको छ । उनीहरुले आजै रातीबाट वा भोलिबाट मतगणना कार्य सुरु गर्ने आयोगको भनाइ छ ।

आयोगका अनुसार प्रदेश २ का १३६ स्थानीय तहमा करिब ७३ प्रतिशत मतदान भएको छ । शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्