Logo

संविधान जारी गर्दाको क्षण सम्झिदै पूर्व राष्ट्रपति यादवले भने, भित्रदेखि दुःखी हुँदाहुँदै पनि लोकतन्त्रको प्रक्रियालाई शिरोधार्य गरेको हुँ



आज संविधान दिवस । २ वर्ष अगाडि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले श्रद्धाका साथ ढोगेर संविधानसभाले निर्माण गरेको संधिवान जारी गरेका थिए । संविधानमा केही असन्तुष्टी हुँदाहुँदै पनि संविधान जारी गरेका यादव नेपालका पहिलो राष्ट्रपतिसमेत हुन् । संविधान जारी भएको यो २ वर्षको अवधिमा संविधान कार्यान्वयनको पाटो कस्तो रह्यो त ? यससम्बन्धमा ऋषि धमलाले यादवसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

संविधान जारी भएको २ वर्ष पूरा भयो । यस अवधिमा संविधानलाई कसरी बुझ्नुभयो ?
१२ बुँदे सहमतिको यात्रादखि अगाडि बढेको थियो । त्यो यात्रा अन्तरगत नै संविधानसभाबाट संविधान जारी भएको हो । तर पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि मलाई धेरै चिन्ता भयो । जनआन्दोलनको म्यान्डेड नै पूरा हुन सकेन । संघियतासहतिको लोकतान्तित्र गणतन्त्र समेटिएको संविधान चाहिएको थियो । तर पहिलो संविधान सभाले संविधान बनाउन नसकेपछि गणतन्त्रमाथि नै खेल भइरहेको छ कि भन्ने आशंका लाग्न थालेको थिँए ।
जनआन्दोलनको म्यान्डेटलाई संस्थागत गर्नका लागि संविधानसभा नै चाहिएको थियो । संविधानसभा त गठन भयो । तर २ पटक । संसारमा अहिलेसम्म कहिँ पनि २ पटक संविधानसभाको गठन भएको छैन । तर पनि दोस्रो संविधानसभाले संविधान जारी गर्न सफल भयो । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेशवादी शक्तिलगायतलाई एक ठाउँमा ल्याउन सकियो ।
हामीले सैद्धान्तिक रुपमा केही सम्झौता गर्नुपरेको छ । तर त्यो सम्झौता राष्ट्रको हितमा गरिएको छ ।

देशमा भूकम्प आएपछि संविधान निर्माणले प्रगति गरेकै हो त ?
संविधान निर्माणकै क्रममा देशमा ठूलो भूकम्प आयो । भूकम्पपछि संविधान निर्माणले गति लिएकै हो । तर राजनीतिक दलहरु कांग्रेस, एमाले, माओवादीले मलाई सम्झिन र बुझ्न सकेनन् । किनकी त्यो सभालाई परिवर्तित गरेर प्रतिनिधिसभा बनाएर मधेशको समस्या वा संघियताको विवाद समाधान गर्ने भनेर जो भन्नुभयो, त्यसमा त अदालतले १३८ धारा अनुसार संविधानसभाबाट नै समाधान गरेर जानुपर्छ भने अनुसार म पनि संविधानको संरक्षक र पालकको हैसियतले उभिएको हुँ ।
अर्को कुरा, मलाई कहाँ चित्त बुझेको थिएन भने, संविधानसभाको प्रक्रिया अनुसार नै संविधान बनाउनुपर्छ भन्ने मेरो मान्यता थियो । छिटो त गर्नुस्, तर अलिकति समय पन लिनुस् भन्ने मेरो भनाई थियो ।

तपाईले त असोज ३ गतेको मितिलाई कही समय सार भन्नुभएको थियो हैन ?
गल्ती के भयो भने, संविधानसभाको प्रक्रिया अनुसार नियमावली निलम्बन गर्ने, प्रत्येक धारालाई छलफलमा नलगेर एकमुष्ट पास गर्ने, ह्विप लगाउने । यो सब कुरा गर्नुहुन्थेन । किनकी यो संविधानसभाको प्रक्रिया होइन । बरु आयोग बनाएर छिटो गर्न सकिन्थ्यो । संविधानमा त एउटा एउटा विषयमा, धारामा छलफल गर्नुपर्ने हुन्छ । यो कुरा मैले संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री र राजनीतिक दलका अध्यक्षहरुलाई भनेको हुँ । तर त्यसलाई उहाँहरुले मनन गर्न सक्नुभएन । मलाई राष्ट्रपति बनिरहने इच्छा थिएन । २ वर्षका लागि चुनिएको थिएँ । तर ७ वर्ष ३ महिना राष्ट्रपतिको हैसियतमा रहेँ ।
मेरो उद्देश्य त राम्रो संविधान ल्याउँ भन्ने थियो । एउटा समुदाय र एउट भूभाग, जो कता कता छुटेको जस्तो सन्देश गइरहेको थियो । त्यसैले गर्दा मधेशको पार्टीहरुलाई पनि समेटेर लैजाउँ भन्ने मेरो आशय थियो । मैले १५ दिन वा एक महिना पर सारेर भए पनि सबैलाई मिलाएर लानुपर्छ भनेको थिएँ ।

संविधान जारी गर्ने मिति पर सार्नुको आशय के थियो ?
तपाईलाई याद गराउन चाहन्छु, पहिलो मधेश आन्दोलमा मैले के भनेको थिएँ भने पहाडी मधेशी भाइभाइ हो । हामीले मिलेर जाउँ र परिवर्तनलाई संस्थागत गरौँ भनेको थिएँ । मेरो कर्तव्य थियो कि पहाडी, मधेशी सबै मिलेर जाउँ भन्ने । मधेश पनि यही देशभित्र छ । यसलाई समेटेर लैजाउँ भनेको थिएँ । यसो गर्न सकियो भने नेपालको भौगोलिक विविधताबिचमा एकता हुन्थ्यो ।

तर तपाईले भनेजस्तो संविधान जारी गर्ने मिति पर सारेको भए संविधान जारी नै हुनेथिएन भनिन्छ । अर्को कुरा तपाईले किन संविधान सभामा भएर किन संविधान जारी गर्नुभयो त ?
म त लोकतन्त्रमा विश्वास गर्ने मानिस हुँ । ९० प्रतिशत सभासदले हस्ताक्षर गरेको संविधान, जहाँ मधेशका सभासदले पनि हस्ताक्षर गरेका थिए । कांग्रेसबाट ५२, एमालेबाट ३७ र अरु दलका पनि मधेशबाट प्रतिनिधित्व गर्ने सभासदले संविधानमा हस्ताक्षर गरेका थिए । संविधानसभाबाट त संविधान पास भएको थियो नि । तर योभन्दा राम्रो संविधान ल्याउन सकिन्थ्यो ।
मैले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई भनेको थिएँ, अन्तरिम संविधानमा भएको समसावेशी समानुपातिक र नागरिकताको विषय जस्ताको तस्तै राखिदिनुस् । किनकी अन्तरिम संधिवान सबै दलको सहमतिमा बनेको थियो ।
संविधानप्रति मेरो असहमति त थियो । तर लोकतन्त्रप्रति विश्वास भएकाले संविधान जारी गरेँ ।

तर तपाईले अलिकति बढि अडान लिएर दलहरुलाई सुझाब दिएको भए अहिले संविधान सजिलै कार्यान्वयन हुन्थ्यो होला नि ?
मैले भन्ने र प्रयास गर्ने सवालमा कुनै पनि कसर बाँकी राखेको थिइन । म भित्रदेखि दुःखी हुँदाहुँदै पनि लोकतन्त्रको प्रक्रियालाई शिरोधार्य गरेको हुँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot