Logo

रामशरण महतकै अगाडि धमलाले भने,‘अब ५० वर्ष नाघेकाहरुलाई क्याबिनेटमा पठाउनुहुँदैन्’



काठमाडौं, ५ असोज । प्रमुख दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालको शान्ति प्रक्रिया ऐतिहाँसिक भएको बताएका छन् ।

महतले भने,‘नेपालमा ऐतिहाँसिक शान्ति प्रक्रियामार्फत स्थापित भएका मुल्य र मान्यताहरुलाई संस्थागत गर्न राजनीतिक अस्थिरता मुख्य बाधक बनेको छ, त्यसैले अब मुलुकलाई आर्थिक समृद्धितर्फ डोर्याउनको लागि पनि स्थायी सरकार चाहिन्छ।’ उनले नेपालजस्तो मुलुकमा आर्थिक परिवर्तन गर्न गाह«ो रहेको बताए ।

बिहीबार काठमाडौंमा नेपाल युवा परिषदले विश्व शान्ति दिवसको अवसरमा आयोजना गरेको विस्तृत शान्ति सम्झौताको महत्व र परिणाम विषयक विचार गोष्ठीमा सम्बोधन गर्दै महतले यस्तो बताएका हुन् । त्यस्तै उनले नेपालमा सुशासन मजबुद हुन नसक्दा अनियमितता मौलाएको समेत गुनासो पोखे ।

कार्यक्रममा नयाँ शक्ति नेपालका नेता खिमलाल देवकोटाले युवा भविष्यको कर्णधार नभई वर्तमानका साझेदार भएको स्पष्ट पारे ।

उनले भने,‘ठूला–ठूला युद्धहरुमा युवाहरुको महत्वपूर्ण भुमिका रहेपनि निर्णायक घडीमा भने युवाहरुलाई नै पाखा लगाईने काम भएको छ, यो नै दुर्भाग्य हो।’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मुलुकको नेतृत्व अब युवाहरुले गर्नुपर्ने बताएका छन् । उनले भने,‘लिडरसिपमा युवाहरु आउनुपर्छ, युवाले देश चलाउनुपर्छ, कम्तीमा पनि ४० प्रतिशत युवाहरु व्यवस्थापिका संसदमा पुग्नुपर्छ।’ उनले ५० नाघेकाहरुलाई मन्त्रिपरिषदमा निषेध गरिनुपर्ने बताए ।

त्यस्तै धमलाले नेपालको शान्ति प्रक्रिया दिगो रहेको पनि बताए । उनले थपे,‘विस्तृत शान्ति प्रक्रिया अब संस्थागत हुने अन्तिम चरणमाछ, सबै निर्वाचन सम्पन्न भएपनि नयाँ प्रणाली नै संस्थागत हुन्छ, यो भनेको शान्तिप्रक्रिया टुँगोमा पुग्नु नै हो।’

कार्यक्रममा पर्यटन बोर्डकी सदस्य भारती गिरी लगायत विभिन्न वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्