Logo

कांग्रेसले कमजोर नतिजा ल्याए पनि मुलुकले जितेको छ : बालकृष्ण खाँड



प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाको नतिजा आउने क्रम जारी छ । अन्तिम नतिजा आइनसके पनि कुन दलको हैसियत कस्तो रैछ भन्ने कुरा लगभग स्पष्ट भइसकेको छ । सबैजसो ठूला दलले उक्त प्रदेशमा पहिलो ठूलो दल बन्ने दाबी गरेका थिए । दलहरुले यति ठाउँमा जित्छौँ भनेर घोषणासमेत गरेका थिए । तर कुनै पनि दलले अनुमान गरेजस्तो नतिजा आएको छैन । दलहरुले अनुमान गरेभन्दा कमजोर हैसियत नतिजाले देखाएको छ । यसै सन्दर्भमा ऋषि धमलाले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडसँग कुरा गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

प्रदेश नम्बर २ को चुनावको प्रारम्भिक नतिजालाई कांग्रेसले कसरी लिएको छ ?
संविधानलाई कार्यान्वयन गर्ने क्रममा सबै दललाई चुनावमा सहभागि गराउनमा हामी सफल भएका छौँ । यो मुलुकै सफलता हो ।

चुनावी नतिजामा कांग्रेसका नेताहरुले एक सय ठाउँमा जित्छौँ भन्नुभएको थियो । तर त्यस्तो नतिजा त आएन नि ?
मुलभूत रुपमा हामीले सबै दल निर्वाचनमा सहभागि हुनुलाई नै जित ठानेका छौँ ।  यो सबैका लागि उपलब्धि हो । कांग्रेसले उद्घोष गरेजस्तो नतिजा नआएपछि सन्तोषजनक नतिजा आएको छ ।

कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीको ठाउँमा नै कांग्रेसले किन हा¥यो ?
पहिलेदेखि नै कांग्रेसको प्रभाव रहेको क्षेत्रमा पनि हामीले जित्न नसकेको कुरा सत्य हो । त्यसैगरी पहिला प्रभाव कमजोर रहेको ठाउँमा जितेको उदाहरण पनि छ । नतिजा मिश्रित आएको छ ।

पार्टीका महामन्त्री शशांक कोइरालाले सक्षम उम्मेदवार छान्न सकेको भए ११० ठाउँमा जित्न सकिन्थ्यो भन्नुभयो । उम्मेदवार राम्रा छान्न नसक्नुभएको हो ?
प्रदेश नम्बर २ मा त्यही क्षेत्रका केन्द्रिय सदस्य, सासंद र स्थानीय नेताहरुकै निष्कर्ष अनुसार उम्मेदवार सिफारिस गरिएको हो । यसपटक उम्मेदवार छनौटमा केन्द्रले हस्तक्षेप गरेको छैन । कोइरालाले उठाएका विषयमा केन्द्रिय समितिमा छलफल गरिनेछ ।

केन्द्रिय समितिको बैठक नबसेकाले पार्टीभित्र कुरा राख्न पाइएन भन्ने गुनासो कोइरालले गर्नुभएको छ नि ?
कांग्रेसको विधानअनुसार केन्द्रिय कार्यसम्पादन समिति छ । सभापति शेरबहादुर देउवा संयुक्तराष्ट्रको महासभामा जानुभन्दा अगाडि कार्यसम्पादन समितिको बैठक राख्नुभएको थियो । केन्द्रिय समितिको बैठक देउवा फर्किएपछि बस्छ ।

प्रदेश नम्बर पाँचको राजधानी बुटवल राख्ने कि दाङ ?
गौतम वुद्धको जन्मस्थल लुम्बिनी भएकाले बुटवल नै उचित हुन्छ । शुशील कोइराला प्रधानमन्त्री हुँदा नै भैरहवामा अन्तराष्ट्रि विमानस्थल निर्माणको काम सुरु भइसकेको छ । जनघनत्व र जनप्रतिनिधी हेर्दा पनि रुपन्देही क्षेत्र नै उचित देखिन्छ । लुम्बिनीको सम्मानका लागि पनि बुटवल नै उचित हुन्छ । तर यसको अन्तिम निर्णय गर्ने अधिकार प्रदेश सभालाई भएकाले सोही अनुसार हुन्छ ।

तपाई प्रदेश नम्बर ५ को मूख्यमन्त्रीको दाबेदार हो ?
म कांग्रेसको कार्यकर्ता हुँ । नेपाली नागरिक हुँ । मेरा मतदाताले दिएको जनादेश र पार्टीले गरेको निर्णय मान्नेछु । मेरो व्यक्तिगत कुरा गर्दा चाँही केन्द्रिय तहको राजनीति नै गर्छु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot