Logo

शीर्ष नेताहरुले सुशील कोइराला फाउण्डेशनको कार्यक्रमलाई बेवास्ता गरेको भन्दै आयोजक रुष्ट



काठमाडौं, ६ असोज । सत्तारुढ नेपाली काँग्रेसले संविधानको कार्यान्वयनमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरेको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले संविधानको सुदृढ कार्यान्वयनमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

तर संविधान जारी गरेका तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको सम्झनामा संविधान कार्यान्वयनको बारेमा आयोजना गरिएको विशेष कार्यक्रममा शीर्ष नेताहरु नै आएनन् । आयोजकका अनुसार कार्यक्रममा सबै दलका शीर्ष नेताहरुलाई डाकिएको थियो। तर बोलाएकामध्ये कोही पनि शीर्ष नेताहरु कार्यक्रममा आएनन् ।

शुक्रबार सुशील कोइराला फाउण्डेशनले काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई आफूले कुनै दल विशेषको हार/जितको रुपमा नभई संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धिको रुपमा लिएको पनि स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै नेकपा एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान कार्यान्वयनको दिशामा एकतावद्ध भएर अघि बढन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका थिए ।

संविधानसभाका तत्कालीन अध्यक्ष समेत रहेका नेम्वाङले संविधान निर्माण गर्दा मिलेका दलहरु संविधान कार्यान्वयन गर्न पनि एकतावद्ध हुनुको विकल्प नरहेको स्पष्ट पारे । उपनेता नेम्वाङले संविधान निर्माणका लागि दलहरुलाई एकतावद्ध बनाएर लैजान प्रधानमन्त्रीको रुपमा सुशील कोइरालाले खेलेको भूमिकाको स्मरण समेत गरेका थिए ।

उपनेता नेम्वाङले व्यापक छलफल गरी जारी गरिएको संविधानमा असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको पनि उल्लेख गरेका थिए ।

आयोजक संस्थाका सदस्य सचिव अतुल कोइराला भने असन्तुष्ट देखिएका थिए । उनले भने,‘राम्रो काम गर्ने, संविधान जारी गर्ने व्यक्तिको सम्मान राखिएको गोष्ठीमा किन आएनन् ? संविधान कार्यान्वयनको लागि यस्तो काम गरेको व्यक्तित्वको सम्मानमा आयोजना गरिएको कार्यक्रममा नेताहरुले आउँछु भनेर पनि आउनुभएन् ?

उनका अनुसार संस्थाले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले बरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाल सबैले आउँछौं भनेर वचन दिएका थिए । तर अन्तिममा कोही पनि नआएपछि आयोजकले यो सुशिल कोइरालाप्रतिको अपमान भएको भन्दै गुनासो नै पोखेको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्