Logo

उपेन्द्र यादव वाम गठबन्धनतिर कि लोकतान्त्रिकतिर ?



काठमाडौं, १९ असोज । पछिल्लो समय प्रमुख दलहरु राजनीतिक धु्रविकरणमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालले चुनावी तालमेल र पार्टी एकताको प्रयास गरेसँगै प्रमुख दल नेपाली कांग्रेसले पनि बृहत्त लोकतान्त्रिक गठबन्धन बनाएर जाने निर्णय गरेको छ ।

काँग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने हिजोमात्रै निर्णय भएको थियो ।
मुलुकको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार साँझ आह्वान गरेकोे राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले सो निर्णय गरेको थियोे ।

मुलुकका ठूला दुई वामपन्थी दलले चुनावी गठबन्धन र पार्टी एकताका लागि पहल गरेको भोलिपल्ट लोकतन्त्र र परिवर्तन पक्षधर दलहरुको बैठकले उक्त कार्यदलमा काँग्रेसका तर्फबाट दुई जना र अन्य दलबाट एक/एक जना सदस्य रहने निर्णय गरिएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिएका थिए ।

तर यतिवेला वामपन्थी र प्रजातन्त्रिक दुवै शक्तिहरुको केन्द्रविन्दुमा भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव छन् । बृहत्त लोकतान्त्रिक गठबन्धनले उनलाई आफ्नो मोर्चामा राख्नको लागि करिब करिब सहमत गराईसकेको यादव निकट उच्च स्रोतले जनाएको छ ।

हुन त हिजोको बैठकमा समेत अध्यक्ष यादवले बृहत्त लोकतान्त्रिक मोर्चाको कार्यदलमा बस्ने जनाउ दिँदै बाहिरिएपछि कांग्रेस शीर्ष नेताहरु खुशी देखिएका छन् ।

बिहीबार विहान नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै फोरम नेपालका नेता रकम चेम्जोङले भने,‘अब हामी समाजवादतर्फ लम्बिएका छौं, अब हाम्रो वामपन्थीहरुसँग एकता हुनै सक्दैन्।’ यद्धपी उनले लोकतान्त्रिक मोर्चामा आवद्ध राप्रपासँगको वैचारिक विषयमा भने अहिले नै सहमति खोज्नुपर्ने बताए । त्यस्तै उनले प्राविधिक ईस्यु पनि औंल्याए।

यता वामपन्थी मोर्चाको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्येक दिन उपेन्द्र यादवसँग फोनवार्ता गरिरहेका छन्। उनले वामपन्थीहरुसँग नबस्ने बरु लोकतान्त्रिक मोर्चामा नै आफू रहने जनाउ दिएका छन् । उनी निकट नेताहरुको भनाई छ,‘हामी कुनै पनि हालतमा वामपन्थी धारमा जाँदैनौं ।’

 



प्रतिक्रिया दिनुहोस्