Logo

चुनाव भाँडिने आशंका छ, विचार मिल्ने पार्टीसँग एकता गर्दैमा चुनाव प्रभावित नहोस् : देवेन्द्र पौडेल



वामपन्थी एकतालाई सबैले विभिन्न टिप्पणी गरिरहेका छन् । विचार र सिद्धान्त नमिल्नेहरुको झुण्ड पनि भनिएको छ भने सबै कम्युनिष्टहरुको एकता भन्नेहरु पनि छन् । नेकपा एमाले र माओवादी केन्द्रसहित नयाँ शक्तिको एकता प्रक्रियाका बारेमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलसँग कुराकानी गरिएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

कम्युनिष्ट शब्द नै उच्चारण गर्दिन भन्नुभएको तपाई पुनः कम्युनिष्ट बन्नुभयो । आफ्नो बोली र व्यवहार किन एउटै हुँदैन ?
कम्युनिष्ट शब्दप्रति मैले कहिले पनि त्यस्तो भनेको छैन । कम्युनिष्ट पार्टिको नाम व्यहवहार अनुसार समाजवादी पार्टी राख्दा राम्रो हुन्छ भन्ने मेरो भनाई थियो ।

नेपालमा कम्युनिष्ट पार्टीहरुको आवश्यकता छैन भनेर त भन्नुभएको थियो नि ?
अहिले पनि सम्भव हुन्छ भने पार्टीको नाम चाँही कम्युनिष्ट पार्टीभन्दा सिद्धान्तका आधारमा ग्रहण गर्न सक्ने समाजवादी पार्टी राख्दा हुन्छ भन्ने मेरो मत छ ।

त्यसो भए माओवादी केन्द्र र एमाले मिलेर भोलिका दिनमा पार्टी एकता हुँदा पार्टीको नाममा कम्युनिष्ट शब्द राख्नु हुँदैन भन्ने पक्षमा हो ?
कम्युनिष्ट शब्दप्रति विमति नै चाँही होइन । संसारभरमा कम्युनिष्ट भनिएका पार्टीले पनि नाममा कम्युनिष्ट शब्द नराखेका उदाहरण धेरै छन् । यदी कम्युनिष्ट पार्टी नै बनाउने हो भने सिद्धान्त, काम र व्यवहार पनि सोही अनुसार हुनुपर्छ ।

तपाईहरुको वाम एकताले मुलुकलाई कता लैजान्छ ?
वाम एकताले नेपालमा दुई प्रकारका ध्रवहरु सृजना गर्नेछ । यो ध्रुविकृत भएको परिस्थितीलाई पार्टी एकतासम्म लैजान सकियो भने नेपालमा नेपाली कांग्रेसको नेतृत्वमा प्रजातान्त्रिक र कम्युनिष्टहरुको नेतृत्वमा वामपन्थी शक्ति देखा पर्नेछ ।

नेपाली राजनीति ध्रुविकृत हुँदै गर्दा आउने समस्या समाधानको उपाय सोच्नुभएको छ ?
दुई छिमेकी राष्ट्रहरुबिचको सम्बन्ध सन्तुलित राख्नुपर्छ । नेपालको कमजोर अर्थतन्त्र र कमजोर विदेश नीतिका कारणले विदेशी शक्तिकेन्द्रहरुको चलखेल हुने गरेको छ । त्यसमा सबै पार्टी सार्वभौमिकताप्रति दृढ भएर लाग्नुपर्छ । पार्टीहरु फुट्ने र जुट्ने क्रमलाई निरन्तरता दिनु हुँदैन । एकजुट भएर देशको हितमा लाग्नुपर्छ ।

माओवादी र एमालेबिचको एकता दीर्घकालिन रुपमा सफल होला ?
हामीले आँटेका छौँ । व्यवस्थापन गर्न सकिन्छ भनेर पार्टी एकतासम्मको प्रसङ्ग चलाएका हौँ ।

तपाईकै पार्टीभित्र असन्तुष्टी देखिएको छ ?
त्यो स्वभाविक नै हो । केही साथीहरुले चित्त बुझाउनुभएको छैन । सकेसम्म सबैलाई मिलाएर लैजान्छौँ । गोपाल किराँतीले पनि आफ्ना कुरा राख्छु भन्नुभएको छ । यसलाई अन्यथाको रुपमा लिनु हुँदैन । विशाल ध्रुवमा जाँदैछौँ भने केही असन्तुष्टीलाई अस्वभाविक रुपमा लिनु हुँदैन ।

नेकपा माओवादी केन्द्र एमालेमा विलय भयो भन्ने टिप्पणी भइरहेका छन् । के भन्नुहुन्छ ?
त्यो विल्कुलै होइन । एजेण्डाको विषयमा छलफल भइसकेको छैन । नयाँ कम्युनिष्ट पार्टी वा नयाँ समाजवादी पार्टी गठन गर्नका लागि आधारहरु भत्काएर जिरोबाट सुरु गर्ने प्रयास गरिएको हो । कुनै पनि पार्टी विलय भएको होइन ।

तपाईको पार्टी अध्यक्ष प्रचण्डले जुन किसिमको सम्झौता एमालेसँग गरेका छन्, त्यसका कारण र आधार कसरी पुष्टी हुन सक्छ ?
छ बुँदे सम्झौता भएको छ । त्यसका सबै अन्तरवस्तु हामीले छलफल र अध्ययन गरेका छौँ । कम्युनिष्ट पार्टीहरु मिल्नुपर्छ भनेर २००६ सालदेखि भनिदै आएको थियो । २०६४ सालपछि निरन्तर यस विषयमा छलफलहरु भइरहेका थिए । अहिले १२ वर्षपछि त्यसले सार्थकता पाउँदैछ ।

तपाईहरु एकताको अभियान हुँदै गर्दा अन्तराष्ट्रिय शक्तिले प्रहार गर्ने सम्भावना देख्नुभएको छ वा छैन ?
सबै अन्तराष्ट्रिय शक्तिसँग सन्तुलित सम्बन्ध कायम राख्न सकियो भने नेपालमा विकसित भएको दुई ध्रुविय राजनीतिकलाई सही प्रकारले व्यवस्थित गर्न सकिन्छ । यदी सकिएन भने केही असर पर्न सक्छ । तर हाम्रो देशमा कस्ता प्रकारका पार्टी बनाउने भन्ने कुरा हाम्रै देशका जनता र नेताले निर्णय गर्ने हो । अरु कसैको दबाले त्यसलाई प्रभाव पार्नु हुँदैन ।

तोकिएको मितिमा प्रदेश प्रतिनिधिसभाको चुनाव नै नहुने हो कि भन्ने आशंका उब्जिएको हो ?
त्यो आशंका पनि छ । तर नेपाली कांग्रेसको नेतृत्वको सरकारलाई के सहयोग गर्नुपर्छ, त्यसका लागि हामी तयार छौँ । यति हुँदा हुँदै पनि हामीले विचार मिल्ने पार्टीसँग पार्टी एकता गछौँ भन्दा चुनाव भाँड्ने काम कसैले गर्छ भने त्यो नेपालका लागि दुर्भाग्य हुनेछ । देश अस्थिरता र अराजकतातिर धकेलिने छ । यो अवस्थामा कोही पनि उत्तेजित हुनु हुँदैन ।

तपाईंहरु सरकारमा पनि बस्ने विपक्षी दलसँग गठबन्धन पनि गर्ने ? नैतिकताको खडेरी भएको हो ?
हामी विल्कुल नैतिकतामा अडिग छौँ । नैतिकता भएर नै विपक्षी दलसँग गठबन्धन गरे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिदैनौँ भनेका छौँ । नेपाली कांग्रेसले पनि आफ्नो विचार मिल्ने दलसँग पार्टी एकता वा तालमेल गरोस् । हामी नैतिकताको प्रश्न उठाउँदैनौँ । कम्युनिष्ट एकता नचाहनेका लागि हाम्रो एकता अनैतिक हुन सक्छ । तर हामी आफ्नो तर्फबाट सरकारबाट बाहिरिदैनौँ । सरकारलाई सहयोग गरेर चुनाव सम्पन्न गराउँछौँ ।

नेपाली कांग्रेससँग गरिएको ३ बुँदे सहमति त उल्लङ्घन गर्नुभयो नि ?
हामीले सहमति विपरित काम गरेका छैनौँ । हाम्रो सहमति चुनावसम्मका लागि मात्रै थियो । त्यो सहमतिप्रति हामी प्रतिवद्ध छौँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot