Logo

वाम गठबन्धनले जनतामा उत्साह छाएको छ, अब पार्टी एकतापनि हुन्छ : महासेठ



काठमाडौं, २३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् रघुविर महासेठले विगतका तितामिठा कुराहरुलाई बिर्सेर वाम गठबन्धनले मुलुक र जनताको हितमा काम गर्नुपर्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले साक्षात्कारमा बोल्दै नेता महासेठले विगतमा एमाले र माओवादीबीच भएका तितामिठा कुराहरुलाई भुलेर मुलुक र जनताको हितमा काम गर्नको लागि वाम गठबन्धन गरिएको स्पष्ट पारेका हुन् ।

मुलुकमा धेरै राजनीतिक दलहरुको आवश्यकत्ता नरहेको बताउँदै उनले भने,‘लोकतान्त्रिक पक्षको नेतृत्व काँग्रेस लिँदा हुन्छ, वाम गठबन्धन बनाएर अघि बढ्ने भएका छौ, हाम्रो देशमा अब दुई राजनीतिक दल भए पुग्छ।’

उनले अघि थपे,‘वाम एकताको प्रसँग उठिसकेपछि जनतामा खुशी छाएको छ, वामपन्थी जनताहरु मात्रै खुशी छैनन्, अन्य बिचारधारा बोक्ने जनता पनि खुशी देखिएका छन्।’

विगत लामो समयदेखिको प्रयास र गृहकार्यपछि वामपन्थी गठबन्धन र दुई पार्टीवीच एकता प्रयास चलेको बताउदै नेता महासेठले माओवादी जंगलमा हुँदापनि एकतामा आउनको लागि आग्रह गरिएको खुलासा गरे ।

महासेठले मधेशवादी दलले मधेशी जनताको लागी र देशको लागि केही नगरेको अवस्था पनि प्रदेश नम्बर २ का जनताले मधेशवादी दलका नेतालाई नै भोट दिएकोमा आश्चर्य व्यक्त गरे ।

उनले भने,‘मधेशवादी दलहरुले न त मधेशका जनताको लागि काम गरे, न त मुलुकको लागि, निर्वाचनको मापदण्डभन्दा बाहिर गएर एमालेलाई मधेशमा पराजित गर्नको लागि सरकार, राजपा लगायत अनेक शक्तिको प्रयोग भयो।’

 



प्रतिक्रिया दिनुहोस्