Logo

कांग्रेससँग चुनावी तालमेलमात्रै हो, गठबन्धन हुँदैन : यादव



‘२ नम्बर प्रदेशका जनताले मिलेर आउ भने त्यसैले फोरमसँग चुनावी तालमेल गर्न पुग्यौं
काठमाडौं, २३ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले कांग्रेससँग आफ्नो पार्टीको चुनावी तालमेलमात्रै हुने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले यस्तो बताएका हुन् । उनले संविधानमा समावेश नभएका मधेशी, आदिवासी, जनजाती, थारु लगायतका मुद्धाहरुमा उभिने राजनीतिक दलहरुसँग चुनावी सहकार्य हुने बताउँदै नेता यादवले ६ दलीय बृहत्त लोकतान्त्रिक गठबन्धनमा सामेल राजनीतिक दलहरु विभिन्न विचार र आस्था बोक्ने भएका कारण पार्टी एकता असम्भव रहेको स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘कांग्रेस लगायत अन्य दलहरुसँग चाहीँ हामी निर्वाचनमा मात्रै तालमेल गर्छौं, कसरी चुनाव जित्न सकिन्छ त्यतातिर ध्यान दिएका छौं, गठबन्धन नै बनेर हामी अघि बढ्दैनौं।’

उनले वाम गठबन्धन सम्भव नै नभएको दाबी गरेका छन् । वाम गठबन्धनको गृहकार्यमा जुटेका एमाले–माओवादीबीच पार्टी एकता हुनेमा आफ बिश्वस्त नहेको बताउँदै नेता यादवले एमालेलाई नश्लवादी र माओवादीलाई ढुलमुले राजनीतिक दलको रुपमा टिप्पणी गरे ।

उनले भने,‘एमाले नश्लवादी हो, माओवादी अल्लारे र एजेण्डा बिनाको पार्टी हो, अर्कोतर्फ एमाले संघियता बिरोधि पार्टी हो किनकी उसले त संघीयता चाहेका थिएनौ, मानिदिएको हो भनेर भनेकै हो, र अर्कोतर्फ उत्पीडितहरुको नाममा सक्तामा पुग्ने स्वार्थ बोकेको पार्टीबीचको एकता कसरी सम्भव होला?’

मुद्दा, एजेण्डा र राष्ट्रियताको नाममा संघीय समाजवादी फोरमसँग आफूहरुको एजेण्डा मिल्ने भएकोले आगामी निर्वाचनमा फोरमसँग चुनाबी तालमेल गर्ने यादवले जानकारी दिए ।

उनले भने,‘हिजो हामीले मधेशको लागि सँगसँगै संघर्ष गर्यौ, हामीलाई मधेशका जनताले मिलेर आउ हामी भोट दिन्छौ भनेका छन्, त्यसैअनुरुप हामी २ नम्बर प्रदेशमा पहिलो बन्छौँ, काँग्रेससँग पनि सहकार्य र चुनावी तालमेल हुन्छ।’

 



प्रतिक्रिया दिनुहोस्