Logo

पार्टी एकता महान बहसको सुरुवात हो : ‘प्रचण्ड’



काठमाडौं, २४ असोज । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) लगायतका बामपन्थी पार्टीहरुसँगको एकताले महान बहसको सुरुवात हुने बताउनु भएको छ ।

सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा वाइसिएलले आयोजना गरेको स्कूलिङ कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिलेको पार्टी एकता पनि द्धन्द्धात्मक भौतिकवादकै नियममा हुँदैछ, पुरानोको बिघटन र नयाँको निर्माण द्धन्द्धवादको नियम हो, मोटो मशाल बिघटन नगरी एकताकेन्द्र बन्ने थिएन ।

एकताकेन्द्र नभत्काई माओवादी हुने थिएन । माओवादी भत्काएर एमाओवादी र माओवादी केन्द्र बनाएका छौं’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अबको मिसन समाजवादी क्रान्ति हो । समाजवादका लागि माओवादी केन्द्र पनि बिघटन हुन्छ र नयाँ पार्टीको जन्म हुन्छ, यो विज्ञानकै नियम अन्तर्गत पर्छ । अहिलेको हाम्रो पार्टी एकताले महान बहसको सुरुवात गर्नेछ । हामी सबै समाजवादी क्रान्तिको तयारीका लागि एउटा ठूलो मिसन र बहसमा हेलिँदै छौं ।’

‘कम्युनिष्ट पार्टी जमेको पोखरी होइन, यो त गड्गडाउँदो नदीझैं अघि बढ्छ’, अध्यक्ष प्रचण्डले थप्नुभयो, ‘सिधा र सरल तरीकाले दुनियाँमा कहीँ पनि क्रान्ति भएको छैन । जोखिम मोल्न सक्ने र चूनौति झेल्न सक्ने पार्टी र नेतृत्वले मात्रै क्रान्तिको नेतृत्व गर्छ र समाज अगाडि बढ्छ, त्यसका लागि तपाईहरु सबै तयार हुनुपर्छ । युवाहरुले निरन्तरता होइन, क्रमभङ्गमा सोचेर मात्रै समाजको नेतृत्व गर्न सकिन्छ ।’

स्कूलिङ कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नै नेतृत्व र कार्यकालमा नेपालमा समाजवादी क्रान्ति हुने र आफूलाई समाजवादी क्रान्ति देखेर मर्ने मन भएको बताउनु भयो । एक दिने स्कूलिङ कार्यक्रममा माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मणि थापा, कानुनविद रमण श्रेष्ठ लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्