Logo

ठूला दलमा उम्मेद्धवार चयनलाई लिएर सकस, योग्य र सक्षमभन्दापनि नातागोताको खोजी



काठमाडौं, २४ असोज । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउने मंसिर १० र २१ गते हुँदैछ । प्रमुख दलहरु चुनावी तयारीमा होमिसकेका छन् । तर उनीहरुले अहिलेसम्म उम्मेद्धवारको चयन गर्न सकेका छैनन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका प्रमुख दलभित्र अहिलेपनि उम्मेद्धवार चयनलाई लिएर विवाद नै देखिएको छ । चुनाव आउन करिब २० दिन बाँकी हुँदा दलहरुले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ उम्मेद्धवारको टुँगो लगाउन सकेका छैनन् ।

उसो त अहिले राजनीतिक दलहरु धु्रवीकृत बनेका छन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले सिट संख्या बाँडफाँड गरेर तीन दिनभित्रै प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नामावाली आयोगलाई बुझाउने घोषणा गरेका छन् ।

उक्त वाम गठबन्धनका नेता एवम् एमालेका उपाध्यक्ष भीम रावलले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने,‘हामी चाँडै नाम फाईनल गर्छौं।’ उनले वाम गठबन्धनभित्र उम्मेद्धवार चयन गर्ने विषयलाई लिएर कुनै विवाद नभएको दाबी गरे ।

त्यस्तै यता नेपाली कांग्रेसको नेतृत्वमा बनेको बृहत्त लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुले पनि अहिलेसम्म उम्मेद्धवारको नाम टुँगो लगाउन सकेको छैन् । गठबन्धनमा आवद्ध राप्रपा र राप्रपा प्रजातिन्त्रकले पनि छिट्टै नामावाली टुँगो लगाउने भएको छ ।

त्यस्तै विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले पनि कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध हुने तर पार्टी एकतामा नजाने भएपनि उसले पनि कांग्रेससँगको तालेमलका कारण सिट संख्यामा कुरा मिल्नेवित्तिकै उम्मेद्धवारको टुँगो लगाउने बुझिएको छ । सबै पार्टीमा अहिले टिकट वितरणमा नै समस्या देखिएको छ ।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल भने योग्य उमेदवार छान्नमा व्यस्त त देखिएका छन्। भन्नको लागि उनीहरुले जनताको माझमा लोकप्रिय, स्वच्छ छवि र निर्वा्चित भएपछि जनताको पक्षमा काम गर्नसक्ने खालका उम्मेदवार छान्ने प्रतिबद्धता जनाएका छन् । तर व्यवहारमा भने त्यस्तो भएको छैन् । योग्य र सक्षमको सट्टा उनीहरुले नातागोताको खोजी गरेको पनि आलोचना भैरहेको छ।



प्रतिक्रिया दिनुहोस्