Logo

गौचन हत्याकाण्ड : ३ दिनभित्र हत्यारा पक्राउ गरिने प्रधानमन्त्री देउवाको दाबी, ३ दिन निर्माण कार्य ठप्प पार्ने व्यवसायीको घोषणा



२४ असोज, काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिब रामशरण देउजाले पटक पटक अज्ञात नम्बरबाट फोन गरेर व्यवसायीलाई धम्क्याउने काम अहिले पनि भइरहेको बताएका छन् ।

“जतिसक्दो चाँडो सरकारले हत्यार पत्ता लगाउन सकेन भने यस्ता मनस्थितीहरु प्रोत्साहित हुने सम्भावन देखिन्छ ।” देउजाले बताए ।
गौचन हत्याको विषयमा मंगलबार नै गृहमन्त्रीलाई भेटी हत्यारा पक्राउ गर्न आग्रह गरिएको जानकारी देउजाले दिए । तर सरकारले भने अहिलेसम्म हत्याराको सुईँकोसम्म पाउन सकेको छैन ।
देउजाले विभिन्न जिल्लाका साना व्यवासायीको सुरक्षा खतरा पनि बढेको बताएका छन् ।

प्रधानमन्त्री–निर्माण व्यवसायी भेट
निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत भेटेर यसबारेमा छलफल गरेको थियो ।
महासंघका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर गौचनलाई शहीद घोषणा गर्न, हत्यारालाई तत्काल खोजी कारबाही गर्न र निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरेका हुन् । अध्यक्ष गौचनको हत्याका साथै अन्य पदाधिकारीलाई विभिन्न फोन नम्बरबाट धम्की दिने प्रवृत्तिले असुरक्षा भएको भन्दै सुरक्षा प्रबन्ध मिलाउन महासंघले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको महासचिव देउजाले जानकारी दिए ।
व्यक्तिगत रुपमा विभन्न व्यवसायीलाई धम्की आइरहेको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएर सुरक्षा माग गरिएको देउजाले बताएका छन् ।
“फोन नम्बर र नामसहित लेखेर संस्थागत रुपमा पठाउनुहोस्, म तुरुन्त आइजिपिलाई फरवार्ड गरिदिन्छु । एक दुई दिनभित्रै हत्यारा पत्ता लगाउँछौँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।”
भेटमा प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीको सुरक्षा दिन सरकार तयार रहेकाले हतोत्साहित नहुन व्यवसायीलाई आग्रह गरेका छन् ।

देउजाले प्रहरी प्रशासनको विश्वास गर्नुबाहेक विकल्प नभएको पनि बताएका छन् ।

तीन दिन निर्माण कार्य ठप्प पारिने
गृहमन्त्रालयद्धारा ठोस कदम नचालिएसम्म गौचनको शव नबुझ्नेसम्मको अडान निर्माण व्यवसायीले लिएका छन् । यसका साथै बुधबारदेखि ३ दिनसम्म देशका संपूर्ण निर्माणका काम ठप्प पार्ने कार्यक्रम निर्माण व्यवसायी महासंघले सार्वजनिक गरेको छ । एक दिन शोकका लागि र बाँकी दुई दिन विरोध स्वरुप निर्माणसँग सम्बन्धित कुनै पनि प्रक्रिया अगाडि नबढाइने महासचिव गौचनले जानकारी दिए ।

विरोध प्रदर्शन
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा प्रदर्शन गरिएको छ । गौचनका शवलाई पोष्टमार्टका लागि राखिएको शिक्षण अस्पताल महाराजगंज परिसरमा विरोध प्रदर्शन गरिएको हो ।

थकाली सेवा समिति नेपालको अयोजनामा गरिएको प्रदर्शनमा गौचनको हत्यारालाई जतिसक्दो छिटो पक्राउ गरी कारबाहीको माग गरिएको थियो । त्यस्तै हत्याको विषयमा सत्य तथ्य पत्ता लगाउनका लागि छाबीन आयोग गठन गर्नसमेत माग गरिएको छ । विरोध प्रदर्शनका क्रममा स्वर्गीय गौचनलाई तत्काल शहीद घोषणा गर्न पनि माग गरिएको छ । सोमबार बानेश्वरमा गोली प्रहार गरि गौचनको हत्या गरिए पनि हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

सुरक्षा व्यवस्था कमजोरी छर्लङ्ग
सामान्यतया सम्पूर्ण देशकै निर्माणकार्यको जिम्मेवारी अंगालेका निर्माण व्यवसायी माथि यस प्रकारका निर्मम घटना हुन बारम्बार धम्कीपूर्ण वातावरण सृजना गर्नुले देशको विकास निर्माणका काम प्रभावित हुने निश्चत छ । यसतर्फ सरकारले बेलैमा ध्यान दिएर सबैखाले व्यवसायीको व्यवसाय र जीवनको रक्षा गर्नु जरुरी छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शदरकुमार गौचनको हत्या भएपछि सम्पूर्ण निर्माण व्यवसायीहरु आन्दोलित बनेका छन् ।
व्यवसायीहरु असुरक्षित भएको र गौचनको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै व्यवासायीले सरकारलाई दबाब दिएका हुन् । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरुले विरोध र दबाबमुलक कार्यक्रम सुरु गरेका छन् ।
काठमाण्डौको मुटु शान्तिनगरको व्यस्त सडकमा सोमबार दिउंसो एकाएक निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनको निर्मम तरिकाले हत्या भएपछि सुरक्षा अवस्थाबारे प्रश्न चिन्ह उठेको छ ।
दिनदहाडै त्यो पनि प्रहरीको पँहुच क्षेत्रमा निर्माण व्यवसायीहरुको छातासँगठन नेपाली निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि नै गोली प्रहार गरी हत्या गरिनुले सुरक्षा व्यवस्थाको फितलोपन छर्लङ्ग भएको छ ।
तर सरकारले भने अहिलेसम्म हत्याराको खोजी जारी राख्नुबाहेकको ठोस उपलब्धि सार्वजनिक गर्न सकेको छैन । हत्यारा पत्ता लगाउनका लागि दबाब दिने उद्देश्यले गरिएको विरोध कार्यक्रमले विकास निर्माणका काम प्रभावित हुने भएको छ । तर निर्माण व्यवसायीको नेतृत्वकर्ता नै हत्याको सिकार बन्दाको पिडाले व्यवसायीहरु चिन्तित छन् ।
देश बनाउने कार्यको प्रमुख अगंको रुपमा रहेको निर्माण व्यवसाय यसरी दिन प्रतिदिन असुरक्षाका कारणले ग्रसित बन्दै गइरहेको छ । यस्तो अवस्थामा सरकारले व्यवसायी लक्षित सुरक्षाका योजना अघि सार्नु आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्