Logo

प्रधानमन्त्री देउवा र अध्यक्ष राणाबीच भेटवार्ता



काठमाडौँ, २४ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणासँग भेट गरी मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका बारेमा छलफल गर्नुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा मुलुकमा स्थायित्व कायम गर्न संविधान कार्यान्वयनमा सहज वातावरण बनाउने तथा लोकतान्त्रिक दलबीच एकता कायम गरी चुनावमा जानेलगायत विषयमा छलफल केन्द्रित रहेको राप्रपाका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।

उक्त छलफलमा नेपाली काँग्रेसको नेतृत्वमा बढीभन्दा बढी प्रजातन्त्रवादी शक्तिलाई गोलबद्ध गरी अगाडि बढ्न अध्यक्ष राणाले प्रधानमन्त्री देउवालाई सुझाउनु भएको थियो ।

आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत वामपन्थी शक्तिबीच गठबन्धन भएपछि विभिन्न स–साना दलका रुपमा छरिएका लोकतान्त्रिक शक्तिलाई गठबन्धनमा समावेश गर्न प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग छलफल तथा परामर्श गर्दै आउनुभएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्