Logo

शरदकुमार गौचनको हत्या पैसा उठाउने समुहबाट गरिएको पुष्टी : महासचिव रामशरण देउजा



सोमबार निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएपछि अहिले मुलुकै सुरक्षा व्यवस्थामाथि प्रश्न उठिरहेको छ । निर्माण व्यवसायीहरु असुरक्षित महसुस गरिरहेका छन् । गौचनको हत्यारालाई पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित आन्दोलितसमेत बनेका छन् । यसै विषयमा नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजासँग कुराकानी गरिएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा व्यवसायीले निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छन् । यसबारे बताइदिनुस् न ।
राजधानीको सिंहदरबारकै नजिक, यति ठूलो अपराध भएको छ । संविधान कार्यान्वयनको चरणमा, निर्वाचनको मुखैमा आएर यति ठूलो घटना हुनुले हामी असुरक्षित छौँ भन्ने प्रष्ट छ । घटनाको विषयमा सरकारले आधिकारिक रुपमा हत्यारा पहिचान गर्न नसक्नु र पक्राउ गर्न नसक्नुले सुरक्षा चुनौति झन बढेको छ । यो घटना आम नेपालीकोसमेत चासोको विषय हो । त्यसैले यो घटनको दोषी पक्राउ गरियोस् र आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भनेर दबाब दिनका लागि निर्माणका काम रोक्ने निर्णय गरिएको हो ।

सरकारले के ग¥यो भने तपाईहरु आफ्नो कामलाई निरन्तरता दिनुहुन्छ ?
हामीले अपराधीको पहिचान, पक्राउ र कारबाहीको माग गरेका हौँ । अहिले पनि जिम्मेवार पदाधिकारी र व्यवसायीहरुलाई लागातार रुपमा फोनबाट धम्की आइरहेको छ । पैसा माग्ने काम भइरहेको छ । त्यसैले व्यक्तिगत सुरक्षाको प्रत्याभूति पनि हामीले खोजेका छाँै ।

तपाईहरुको मागप्रति प्रधानमन्त्रीले के भन्नुभएको छ ?
हाम्रो मागप्रति प्रधानमन्त्री शेरबहादुर देउवा एकदम सकारात्मक रहेको पायौँ । प्रधानमन्त्रीले हामीसँग भन्नुभयो, “व्यक्तिगत रुपमा पनि म शरद गौचनलाई म चिन्छु, तपाईहरुको महत्व पनि मैले पनि बुझेको छु । यो घटनाको विषयमा प्रहरी प्रमुखलाई बोलाएर हत्यारा पक्राउ गर्न निर्देशन दिन्छु ।”
पछि उहाँले गृहमन्त्री र गृह सचिवलाई लिखित रुपमा नै गौचनको हत्यारालाई जतिसक्दो चाँडो पक्राउ गर्न आदेश दिनुभएको थाहा पायौँ । हामी व्यवसायीलाई व्यक्तिगत रुपमा सुरक्षा दिन पनि निर्देशन दिइसकेको थाहा पाएका छौँ ।

सरकारले कदम चालेकै रैछ । अब तपाईहरुको आन्दोलन केका लागि ?
हामी १२ हजार ५ सय निर्माण व्यवसायी रहेको संगठनको अध्यक्षको हत्या भएको छ । हामी दुरदराजमा गएर काम गर्नुपर्छ । कतिपय ठाउँमा त राज्यको उपस्थिती नभएको ठाउँमा पनि हामी पुगेका छौँ । जिल्लामा बसेर काम गर्ने व्यवसायीहरु यतिबेला अत्तालिएर सबै काठमाण्डौ आएका छन् । सबै डराएका छन् । अज्ञात नम्बरबाट धेरै व्यवसायीलाई धम्की आइरहेको छ । व्यवसायीसँग पैसा मागिएको छ, जुन पैसा दिन सक्ने अवस्था छैन । सरकारबाट पाएको आश्वासनप्रति हामी सकारात्मक छौँ । अहिलेसम्म एक सय जना पक्राउ गरिएको छ । तर हत्यारा पक्राउ पर्न सकेको छैन । त्यसैले हामी काममा फर्किन सक्ने अवस्था छैन ।

हामीले गृहमन्त्री वा प्रधानमन्त्रीको राजिनामा मागेका छैनौँ । राजिनामाले समस्या समाधान हुन सक्छ भन्ने पक्षमा हामी छैनौँ ।

विरोधका कार्यक्रम केके गर्दैहुनुहुन्छ ?
आजै विहान माइतिघरमा भेला भएर विरोध जनाउँछौँ । शान्तिपूर्ण जुलुस गछौँ । सडकसमेत अवरुद्ध नगरी मण्डलामा बसेर विरोध गछौँ । सरकारलाई हामी अन्यायमा परेका छौँ भनेर सन्देश दिनका लागि मात्र विरोध गर्न लागेका हौँ । विरोधको कार्यक्रम सकेर बैठक बस्छौँ । त्यसपछि अरु केके कार्यक्रम गर्ने भनेर टुङ्गो लगाउँछौँ । विहिबार कोटेश्वर, थापाथली र माइतिघरमा बसेर एक घण्टा चक्काजाम गर्ने कार्यक्रम गर्ने तयारीमा छौँ । तर निर्णय नै भइसकेको छैन । यस विषयमा यातायात व्यवसायी महासंघसँग पनि छलफल गरिरहेका छौँ ।

शरदकुमार गौचनको हत्याको बारमे तपाईहरुसँग केही सुचना छ ?
हामीसँग सुचना वा पुष्टी हुने कुरा केही पनि छैन । तर पछिल्लो पटक अर्थात हत्या भइसकेपछि व्यवसायीलाई आएका फोन धम्कीबाट चाँही के पुष्टी हुन्छ भने पैसा उठाउने समुहबाट गरिएको अपराध हो । अहिले पनि स्थापित व्यवसायी, पदाधिकारीसहित अन्य व्यवसायीलाई निरन्तर रुपमा पैसा माग्ने उद्देश्यले धम्कीपूर्ण फोनहरु आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot